मुख्यमन्त्री सिंहलाई ‘महामूर्ख’ को उपाधि

जनकपुरधाम, १ चैत । होली पर्वको अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको महामूर्ख सम्मेलन यस वर्ष पनि हर्षोल्लासका साथ सम्पन्न भएको छ।
मिथिला नाट्य कला परिषद् (मिनाप) द्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई परम्परागत ‘महामूर्ख’ उपाधिसहित सम्मान गरिएको हो ।
यस वर्ष महामूर्खको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ। मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि उनले चालेका कदमको उच्च मूल्याङ्कन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले उनलाई विशेष प्रकारको माला र टोपीसहित सम्मान गरेका थिए ।
मिनापका अध्यक्ष परमेश झाले मुख्यमन्त्री सिंहको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा देखिएको लगावको प्रशंसा गर्दै महामूर्ख उपाधिले उनको योगदानलाई अझ उजागर गर्ने बताए।
महामूर्ख सम्मेलनमा अन्य विभिन्न व्यक्तित्वहरूलाई पनि रोचक उपाधिहरू प्रदान गरियो । साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका सियाराम झा सरसलाई ‘पटमूर्ख’ को उपाधि प्रदान गरियो । त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई ‘हराशंख’, वरिष्ठ पत्रकार तथा साहित्यकार रामरिझन यादवलाई ‘लोढाशंकर’ उपाधिले सम्मानित गरियो ।
यसैगरी, मधेश प्रदेश सरकारका निमित्त स्वास्थ्य सचिव राजेश कुमार मिश्रलाई ‘बालबोध’, वीरगञ्ज महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई ‘बज्रकीट’, प्रसिद्ध चिकित्सक डा. रामविनय चौधरीलाई ‘खवसुरता’ को उपाधि प्रदान गरियो ।
चित्रकलामा योगदान दिने सीतादेवी कर्णलाई ‘मनपसारैन’, प्रसिद्ध पशु चिकित्सक एवम् प्राध्यापक डा. पिंकी मण्डललाई ‘मन्तोरिया’, महोत्तरीका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई ‘सोटाचन्द’, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई ‘खेसारीलाल’ को उपाधि प्रदान गरियो ।
त्यस्तै, कानुनी क्षेत्रमा योगदान पुर्याएका जनकपुर वार एशोसिएशनका अध्यक्ष विमल मिश्रलाई ‘पवित्र पापी’, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्तालाई ‘डपोरशंख’ तथा ६० देशमा फिल्म फेस्टिवल आयोजना गरेका संवाद फाउण्डेशनका अध्यक्ष कुमार भाष्करलाई ‘तरघुस्ना’ उपाधिले सम्मानित गरियो ।
‘महामूर्ख’ उपाधि ग्रहण गर्दै मुख्यमन्त्री सिंहले यो सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताए।
मिनापले ०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरेको थियो । ०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, ०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, ०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, ०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, ०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री रामचन्द्र झालाई प्रदान गरिएको थियो ।
त्यस्तै, ०६७ सालमा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडिी भ्रमर, ०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, ०७० मा तमलोपाका बरिष्ठ नेता डा. विजयकुमार सिंह, ०७१ मा नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतो, ०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
त्यस्तै ०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो ।
०७४ मा महामूर्खको उपाधि पूर्वराष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, ०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको थियो भने ०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद डा. भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । त्यस्तै, २०८० सालमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

