मिथिलामा होली पर्व : रंग र श्रद्धाको अद्भुत मिलन

–ज्योति झा
जनकपुरधाम, १ चैत । होली हिन्दू धर्मको एक प्रमुख चाड हो, जुन रंगहरूको, उल्लास र खुशीको प्रतीक हो । यो वसन्त ऋतुको आगमनको स्वागत गर्ने र असत्यमा सत्यको विजयको संदेश दिने चाड हो । होलीलाई सामाजिक एकता र प्रेमको प्रतीक पनि मानिन्छ ।
नेपाल मिथिला कला र सस्कृतिले भरिएको देश हो । मिथिला पर्व त्योहारको मामिलामा असाध्यै धनि छ । मिथिलाको कला, संस्कृति, गितनाद, सँस्कार, बिबाह हेर्न मान्छे लालायित हुन्छन् । यहाँ होली पर्व पनि एकदम बिशेष र धुमधामका साथ मनाइन्छ ।
होली प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल मात्र नभई भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूले धुमधामका साथ मनाउँछन् । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । हरेक पर्व मनाउनुको पछाडि एउटा इतिहास हुन्छ । होलीको पछाडि पनि एउटा कथा छ प्रह्लादको ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । अब त विस्तारै रङ्ग खेल्न छोडेर मान्छे अबिर खेल्न रुचाउँछन् ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रहलादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएको दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटनाक्रमसँग सम्बन्धित छ ।
नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ । भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख छ । यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले बयान गर्दछ ।
नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रीकृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज व्यापक गरिन्छ । बालकबालिकाले पिच्कारी अनि स–साना बेलुनहरुका साथमा मज्जा लिन्छन् । अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । आलुलाई काटेर चोर, होली लेखि रङ्गलगाएर जिउमा छ्याप्छन् ।
होलीको समयमा परिक्रमा हुन्छ । हुनत मिथिला महात्मका अनुसार मिथिलामा तीनवटा परिक्रमा हुन्छ । बृहत, मध्यमा र अन्तगृह । परिक्रमाको अर्थ कुनै विशेष स्थान वा धार्मिक स्थलको चारै तर्फ घुम्नु हो । १५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागी भक्तजनहरु आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर आ–आफ्नो घर फर्किएका छन् ।
धनुषाको मिथिला नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्य मठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरु भएको थियो । बिहीबार जनकपुरधाम फर्केका परिक्रमा यात्री शुक्रबार अन्तगरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न भएको हो ।
मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरधामको हनुमान नगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलोमिटर भू–भागको पद यात्रा गरिन्छ । र, यो परिक्रमाले नेपाल भारतबिचको बेटी रोटीको सम्बन्धलाई अझ प्रगाढ बनाउनमा पुलको काम गरेको छ ।
मिथिला हाम्रो सभ्यता हो, सनातन संस्कारको महान अनि पावन उदाहरणीय घटनाहरु मध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासंग लगनगाँठो कस्दाको इतिहास अझै पनि पवित्र मिथिलाधामका गाँउ, चोक अनि चौतारीहरुमा भनिन्छ, गाइन्छ अनि आत्मसात गरिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

