काठमाडौँ, ४ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले विभिन्न देशहरूलाई दिइरहेका बाह्य सहायता र बजेटमा कडा कटौतीको घोषणा गरेको छ । यसरी प्रभावित भएका मुलुकहरूमा नेपाल, भारत र बंगलादेश रहेका छन् ।

यी देशहरुका लागि अमेरिकी सरकारले दिइरहेको सहयोग रोकिएको छ ।माइक्रोब्लगिङ वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभागले आइतबार गरेको एक पोष्टमा नेपाललाई दिइने २ करोड डलरको सहायतामा रोक लगाइएको जानकारी दिएको छ । यसका अतिरिक्त, जैविक विविधता संरक्षण प्रयासका लागि नेपाललाई दिइने १ करोड ९० लाख डलर पनि स्थगित गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ विभागले अमेरिकी सरकारको खर्च कटौतीमा कडाइ गर्ने उद्देश्यले काम गरिरहेको छ । यस विभागको प्रमुख भनेको टेस्ला कम्पनीका मालिक एलन मस्क हुन् । उनले हालै अमेरिकी करदाताको पैसा बचत गर्नका लागि विभिन्न खर्चलाई पुनरावलोकन गर्ने कार्य सुरु गरेका छन् । मस्कले आफ्नो पोष्टमा यो कटौतीलाई अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको रूपमा उल्लेख गरेका छन् ।

यस निर्णयले भारतलाई पनि ठूलो असर पुर्याउने छ । अमेरिकी सरकारले भारतको चुनावी प्रक्रिया र राजनीतिक स्थिरता सुधारका लागि २ करोड १० लाख डलर (९१ अर्ब ८२ करोड भारु) को सहायता प्रदान गरिरहेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प बीचको भेटघाटपछि दुबै नेताहरूले अमेरिका–भारत सम्बन्धलाई सुदृढ पार्ने महत्त्वपूर्ण घोषणाहरू गरेका थिए । मस्कको नयाँ निर्णयले भारतलाई ठुलो धक्का पुर्याएको छ ।

नेपाल र बंगलादेश पनि यस निर्णयबाट प्रभावित भएका छन् । नेपाललाई दिइने बाह्य सहायता र बंगलादेशलाई दिइने राजनीतिक स्थिरता प्रवद्र्धनका लागि दिने २ करोड ९० लाख डलरको सहयोग पनि रोकिएको छ । यसलाई बंगलादेशको लोकतान्त्रिक शासन सुदृढ गर्न र राजनीतिक स्थिरता कायम राख्नको लागि गरिएको अमेरिकी प्रयासको रूपमा देखिन्छ ।