–ज्योति झा
जनकपुरधाम, २ फागुन । अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटक, इनष्टाग्राम प्रेम दिवसको साप्ताहिक कार्यक्रमले सजिएको छ । जसलाई कतिले सपोर्ट गरिरहेका छन् भने कतिले विरोध । सबैको आ–आफ्नो राय छ ।

भ्यालेन्टाइन डे साप्ताहिक महापर्व जस्तै रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रोमिस डे, हग डे, किस डे र भ्यालेन्टाईन डे लगायतका ८ दिनमा विभाजन गरि मनाउने गरिन्छ । यो डे हो कि के बुझ्नै गार्हो भयो मलाई ।

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस जसलाई हामी प्रेम दिवस पनि भन्ने गर्छौ । प्रेम त प्रकृतिमै छ । हाम्रो वरिपरि माटोमा, फूलमा, हावामा, घरमा, पातमा र हजारौं गुनगुनाईने गीतमा छ प्रेम । त्यसैले त भनिन्छ ‘प’ बाट प्रेम, ‘प’ बाट नै प्रकृति र ‘प’ बाट परमात्मा अर्थात परमात्माले बनाएको प्रकृतिको हरेक वस्तुमा प्रेम छ ।

प्रेम संसारको हरेक वस्तुमा हुन्छ, चाहे त्यो सजिव वा निर्जिव नै किन नहोस् । प्रेमबाट वञ्चित यो संसारमा कोही छैनन् । मलाइ लाग्छ यो संसारमा सबैभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द नै सायद प्रेम हो । प्रेम मानिस मानिसको बिचमा मात्र नभई मानिस र चराचुरुङ्गी देखि सबै प्रकारका जन्तु र जनावर बिच रहेको देखिन्छ । प्रेम त्यो हो जुन गायकले आफ्नो स्वरसंग गर्छ । प्रेम त्यो जुन लेखकले आफ्नो किताबका अक्षरसंग गर्छ । प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई । त्यसैले त उसले तेललाई भनिरहेको हुन्छ कि जबसम्म तिमि छौ म बलिरहेको हुन्छु ।

हरेक सम्बन्धकोे आफ्नो विशेषता र आफैंमा विशेष हुन्छ । आमाबुवासँगको सम्बन्ध, भाइबहिनी बीचको सम्बन्ध, साथीहरु बीचको सम्बन्ध, जीवनसाथी या प्रेमी प्रेमीकाबीचको सम्बन्ध । यी सबै सम्बन्धको आ–आफ्नै महत्व हुन्छ ।

हाम्रो समाजमा हामी जीवनसाथी या प्रेमी–प्रेमीकाबीचको प्रेमलाई सहज रुपले स्वीकार्न सक्दैनौं । अरु सम्बन्धको अगाडि यो सम्बन्धलाई गौण बनाइदिन्छौ । हाम्रो जीवनसाथी या प्रेमी–प्रेमीकाको लागि हामी भित्र भित्रै मर्न समेत तयार हुन्छौं ।

तर, बाहिर व्यक्त गर्दा यो प्रेमलाई अरु सम्बन्धसँग जोडेर आदर्शवादी बन्न चाहन्छौं । किन होला ! धेरैले भ्यालेन्टाइन डे लाई स्वीकारेका छन् भनें कतिले पश्चिमी समाजबाट भित्रिएका कारण पनि नेपालमा यसको विरोध गर्ने या यसको विपक्षमा बोल्ने पनि धेरै छन् । तर भ्यालेन्टाइन डेलाई हामीले ‘प्रेम दिवस’ भनेर नाम दिइसकेका छौं । प्रेमको उत्सव, सम्बन्धको उत्सव मनाउने अवसर पाएका छौं ।

आफूभित्र लुकेको प्रेमलाई, आफ्नो भावनालाई बाहिर व्यक्त गर्ने, आफ्नो प्रेमी–प्रेमिका या जीवनसाथी बीचको सम्बन्धमा भएको मनमुटावलाई सकेर सम्बन्ध गाढा बनाउने यो अवसर पनि हो । प्रेमको नाममा बढेका अपराध, देखावटीपन आदिका कारण पनि धेरैको नजरमा यो अवसर गौण बनिरहेको छ ।

पछिल्लो समयदेखि युवापिढीमा पश्चिमि संस्कृतिको बढि प्रभाव देखिएको छ । जसका कारण हाम्रो संस्कृति कहीं न कहीं कुनै न कुनै रूपमा लोप हुँदै गइरहेको छ । हुनत देशी होस् वा विदेशी, हरेक पर्वको पछाडी केहि न केहि कथा वस्तु हुन्छ नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको यो दिवससंग पनि एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।

यसको शुरुवात ईसं २६९ रोमनबाट सुरू भएको थियो । रोमन सम्राटको पालामा रोमन सम्राट कलोडियस द्वितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्नमा रोक लगाएका थिए । उनको विचारमा प्रेमले मान्छेलाई कमजोर बनाउँछ र सैनिकले प्रेम वा विवाह गरेमा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भने डरले गर्दा कलोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराएर रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको विवाह गराए । र यहि कारणले गर्दा सम्राटले उनलाई पक्राउ गरि मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा हुँदाखेरि सन्त भ्यालेन्टाईको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो र उनले आफ्नो दुबै आखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्विकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो र यहि दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष ज्ञद्ध फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे मनाउने गरिएको छ ।

के प्रेमका लागि कुनै खास दिन जरुरी हुन्छ ? वा के प्रेम प्रेमि प्रेमिका बिच मात्र हुन्छ त ? हुनत म यति विद्वान पनि छुईन कि प्रेमको परिभाषा म दिन सकुँ तर यति थाहा छ कि प्रेम भावनात्मक र निस्वार्थ हुन्छ । तर आधुनिक माया शारीरिक आकर्षणबाट सुरु भई ओछयानसम्म गई समाप्त हुन्छ । तर पहिलाको माया आँखादेखि सुरु भई शमसानसम्म पुगथ्यो ।

अहिले छाडा रूपमा प्रेमको नाममा एउटा गन्दा खेल भइरहेको हुन्छ ।भावनात्मक नभई शारीरिक मेल हुँदो रहेछ । भ्यालेन्टाइनडेको नाममा होटेलको रूम बुक हुँदो रहेछ । आमाबुवाले कमाएको धनको दुरूपयोग हुँदो रहेछ । स्कुलको बच्चादेखि लिएर कलेजका युवायुवतीहरु भ्यालेन्टाईनलाई फ्यासनडेको रूपमा मनाउन थालेका छन् । आफ्ना संस्कृतिलाई छोडेर पश्चिमा संस्कृतिलाई बढावा दिनमा व्यस्त छन् ।

म यो भन्दिन कि पश्चिमा संस्कृतिलाई हामी नमनाऔं बल्की हामी हरेक संस्कृतिलाई सम्मान र आदरका साथ अपनाऔं तर आफ्नो पनि संस्कृतिलाई जोगाएर ।

हुन त प्रेम गर्नु पाप होइन इश्वरको वरदान हो तर धोखा दिनु पाप हो, कसैको जिवन बर्बाद गर्नु पाप हो । स्वार्थको लागि मायाको नाटक गर्नु सब भन्दा ठूलो श्राप हो ।

हामीले यस्ता धेरै घटना पनि सुनेका छौं । प्रेम स्विकार नगरेमा वा कुनै बाध्यताले छाडेमा केटीमाथि तेजाब छर्किन्छ, बलात्कार गरिन्छ र अन्त्यमा हत्या समेत गरिन्छ । अब आफै सोच्नुस के यो प्रेम हो त ?

आमाको प्रेम, परिवारको प्रेमलाई त्यागेर वहाँको मान सम्मानलाई लत्याई अरुसँग घर जोडनु प्रेम हो त ? आफैलाई सवाल गर्नुस त एक पटक ! जब कसैसंग प्रेम गर्छौं हामी कसैलाई सोधेर गर्दैनौ तर छोडने समयमा संसारको बहाना दिन्छौ यो कस्तो प्रेम । जसलाई माया गरिन्छ उसलाई दुःख, चोट दिईदैन ।

प्रेम त राधा कृष्ण, सिताराम, रीमियो जुलियट, हिर राँझा, लैला मज्नु, मुना मदनले गरेका थिए एक अर्कासंग निस्वार्थ प्रेम, चोखो प्रेम । प्रेम गर्ने स्वतंत्रता सबैलाई हुनुपर्छ तर प्रेमको नाममा स्वार्थपूर्ति, पीडा दिने अधिकार हुनुहुँदैन ।

प्रेमले सुकुन दिन्छ । तपाईं कसैसँग प्रेम गर्नु हुन्छ भने उसको ब्याकबोन बन्नुस्, उसको खुशीको कारण बन्नुस् दुखको होइन् ।

अन्त्यमा म के भन्न चाहन्छु कि प्रेम गर्नुहोस तर कसैसँग खेलवाड होईन, अपमान होईन, विश्वासघात होईन ।

प्रेम दिवसको सबैलाई शुभकामना