सर्लाहीमा आगलागीले घर जलेर नष्ट, लाखौँको क्षति

सर्लाही, २९ माघ । सर्लाहीको रामनगर गाउँपालिका–३ रामटोलमा सोमबार राति विद्युत सर्ट भई भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण पाँचवटा चौपाया समेत मरेका छन् ।
स्थानीय अनुप महराको कच्ची फुसको घरमा राति करिब साढे ७ बजे विद्युत सर्ट हुँदा आगलागी सुरु भएको थियो । घर पूर्णरूपमा जलेर नष्ट हुँदा महराको परिवारले लताकपडा, कागजपत्र, अन्नपात, नगदसहित ५ लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घरमा भएको आगलागीले महराको ५ वटा बाख्रा पनि जलेर मरेका छन् । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको नेतृत्वमा १० जनाको टोली खटिगई स्थानीयवासीको सहयोगमा करिब १ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको थियो ।