जनकपुरधाम, २५ माघ । ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ को रूपमा जनकपुर साहित्य महोत्सवको छैटौं संस्करण जारी छ । महोत्सवको दोस्रो दिन मधेशको सांस्कृतिक धरोहर र त्यो धरोहरको व्यवसायिकीकरणबारे विशेष सत्रको आयोजना गरियो । यस सत्रका वक्ता कञ्चन राई र सहजकर्ता आदित्य नेपालले गहन विमर्श गरे ।

सत्रको शीर्षक ‘मधेश महिमा : उत्सवको व्यवसायीकरण’ थियो । कञ्चन राईले मधेशको सांस्कृतिक र भौगोलिक विशेषताहरूको व्याख्या गर्दै यस क्षेत्रका उत्सव र परम्पराहरूलाई कसरी व्यावसायिक अवसरमा रूपान्तरण गरिएको छ भन्ने विषयमा आफ्नो भनाइ राखे । उनले मधेशको सांस्कृतिक विविधता र सौन्दर्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि स्थानीय उत्सवहरूको ठूलो महत्त्व रहेको बताए ।

राईले भने, ‘मधेशको इतिहास र संस्कारलाई संरक्षण गर्दै तिनको व्यावसायिक मूल्य सिर्जना गर्न सकिन्छ । उत्सवहरूको माध्यमबाट हामीले आफ्नो परम्परा र संस्कृतिलाई मात्र जगेर्ना गर्न सक्दैनौँ । यसले आर्थिक उन्नति पनि गर्न सक्छ ।’

उनले थपे, ‘उत्सवहरू  केवल परम्परागत नाचगान र धार्मिक विधिहरूमा सीमित रहनु हुँदैन । मधेशमा मनाइने छठ पर्वदेखि मिथिला चित्रकलासम्मका सबै उत्सवहरूलाई पर्यटन र सांस्कृतिक उद्योगसँग जोड्न सकिन्छ । यसले मधेशलाई केवल धार्मिक र सांस्कृतिक केन्द्रको रूपमा मात्रै नभई आर्थिक गतिविधिको केन्द्रको रूपमा पनि स्थापित गर्नेछ ।’

उनले उत्सवहरूलाई व्यवसायिक दृष्टिकोणबाट हेरिने क्रम बढेको बताउँदै भने, ‘हामीले आज यसलाई व्यवसायीकरण भने पनि यो वास्तवमा मधेशको परम्परागत र सांस्कृतिक रूपको विस्तार हो । व्यवसायीकरण भनेको मूल्य निर्माण गर्नु हो । यसले हाम्रो सम्पदा संरक्षण गर्छ र समृद्धि ल्याउँछ ।’

सहजकर्ता आदित्य नेपालले राईको विचारमा थप गर्दै भने, ‘उत्सवहरूको व्यवसायीकरणले स्थानीय उत्पादन र शिल्पकलालाई प्रवद्र्धन गर्न सक्छ । मधेशमा रहेको अद्वितीय संस्कृति र सम्पदालाई प्रवद्र्धन गरेर यहाँको स्थानीय अर्थतन्त्रलाई थप सुदृढ गर्न सकिन्छ ।’

सत्रको क्रममा राईले उत्सवको व्यवसायिक पहलहरूलाई स्थानीय समुदायले कसरी स्वागत गर्ने भन्ने कुरा पनि उल्लेख गरे । उनले भने, ‘स्थानीय बासिन्दाहरूलाई यस्ता व्यवसायिक योजनामा समावेश गरिनु महत्त्वपूर्ण छ । यसले उनीहरूलाई प्रत्यक्ष लाभ दिन्छ र उनीहरूको सहभागितालाई बढाउँछ ।’

उनले थप्दै भने, ‘धेरै पटक हामी उत्सवलाई केवल धार्मिक परम्पराको रूपमा हेरिरहेका हुन्छौँ । तर, यसमा आर्थिक सम्भावना पनि छ ।यसलाई हामीले गम्भीरताका साथ लिनु आवश्यक छ । मधेशमा हुने हरेक उत्सवले पर्यटकीय गतिविधिहरूलाई पनि प्रेरित गर्न सक्छ । यसले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न पनि मद्दत पुर्याउँछ ।’

राईले मधेशको सांस्कृतिक धरोहरको संरक्षण र संवद्र्धनलाई सुनिश्चित गर्दै त्यसलाई आर्थिक रूपमा कसरी फाइदाजनक बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरे । उनले मधेशको सांस्कृतिक पर्यटनलाई विशेष जोड दिँदै भने, ‘हाम्रो उत्सव र परम्पराहरूको महत्त्वलाई विश्वसामु पुर्याउन हामीले अझ बढी ध्यान दिनुपर्छ ।’