आठ वर्षदेखि मोमफली र लड्डु बेच्दै जीवनका सपनाहरू बलिदान गर्ने ‘आयन’ र ‘साहिल’

–ज्योति झा
जनकपुरधाम, १८ माघ ।
विहारको दरभंगास्थित दिल्लिमोडको गल्लीमा हरेक दिन दुई साथीको कथा जीवनका बिचलनहरूसँग जुधिरहेको छ । १८ वर्षीय मोहम्मद आयन र २० वर्षीय साहिल पटेलले आफ्नो उमेरका हजारौं सपनाहरूलाई बिर्सिंदै विगत ८ वर्षदेखि बिहारको दरभंगास्थित दिल्लिमोडमा स–साना ठेलामा मोमफली र तिलको लड्डु बेचेर जीवनयापन गरिरहेका छन् । मुरादाबाद, उत्तर प्रदेशका यी दुई साथी बाल्यकालको जोशलाई जिम्मेवारीको भारीले दबाएका छन् ।
‘उमेरले सपना देख्नुपर्दथ्यो, तर जिम्मेवारीले आँखामा सपनाहरू बन्द गरिदियो, ‘भन्छन् मोहम्मद आयन । ती ठेला न उनीहरूको व्यापार मात्र हो, न त केवल जीवनयापनको साधन नै । त्यो ठेला उनीहरूको आश्रयस्थल पनि हो । जहाँ उनीहरू सुत्छन्, बस्छन् र आफ्नो भविष्यको कथा पनि लेख्छन् ।
यस उमेरमा जहाँ अरू किशोरहरूको आँखामा जीवनका सपनाहरू हुन्छन्, आयन र साहिल भने ठेलामा उभिएर कठिन परिस्थितिहरूसँग लडिरहेका छन् । बिहानदेखि बेलुकासम्म उनीहरू ग्राहकलाइ मिठो बोलीले स्वागत गर्छन् । हाँसी–हाँसी मोमफली र लड्डु बेच्दै आफ्ना दिनहरू बिताउँछन् । दुई साथीको यो कठिन यात्रा मुरादाबादबाट सुरु भएको थियो । उनीहरूको परिवारले आर्थिक समस्याको सामना गरिरहँदा उनीहरूका लागि ती समस्याबाट मुक्त हुने एउटै बाटो भनेको आफ्नो घर छोडेर काम गर्नु थियो ।
‘पहिले त निकै गाह्रो भयो,’ साहिल भन्छन्, ‘तर बिस्तारै हामीले यो कठिनाईसँग जुध्न सिक्यौं । अब त ठेलाको जिन्दगी नै हाम्रो ठेगाना जस्तै भएको छ ।’
आयन र साहिलको दिनभरको परिश्रमको फल भने ५ सयदेखि ६ सय रुपैयाँ मात्र हुन्छ । यो रकम उनीहरूको दैनिक आवश्यकतालाई पूरा गर्न तेस्रो लहरमा पुर्याउँछ । तर, महिना लाग्दा करको रूपमा सरकारलाई ६ हजार तिर्नु पर्ने हुन्छ । यसले उनीहरूको कमाईलाई प्रायः शून्य नजिक पुर्याउँछ । त्यो मात्र होइन उनीहरूलाई आफ्नो सुरक्षाको लागि पनि कठोर उपाय अपनाउनु पर्छ ।
‘ठेलामै सुत्नुपर्छ,’ आयन भन्छन्, ‘कसैले हाम्रो सामान चोरी नगरोस् भनेर हरेक रात आफैं चौकस रहनुपर्छ ।’
‘हाम्रो सुरक्षा हामीले नै गर्नुपर्छ,’ साहिलले थपे, ‘यो सजिलो छैन । बाटोमा धेरै चुनौतीहरू छन्, तर हामीसँग अरू कुनै विकल्प छैन ।’
यद्यपि, यी चुनौतीहरूका बाबजुद पनि आयन र साहिलको मुस्कान कहिल्यै हराउँदैन । उनीहरूको विनम्रता र मिठो बोलीले ग्राहकहरूलाई सधैं उनीहरूको ठेलामा तान्छ ।
‘यहाँ जनकपुरधामबाट आएका ग्राहकहरू विशेष हुन्छन्,’ आयन मुस्कुराउँदै भन्छन्, ‘माता सीताको नगरीबाट आएका मान्छेहरूलाई लड्डु मिठो दिनु पर्छ भन्ने हाम्रो परम्परा हो ।’ साहिलले पनि यसमा सहमति जनाउँदै थपे, ‘हामी सबैलाई समान व्यवहार गर्छौं, किनकि ग्राहक हाम्रा देवता हुन् ।’
आयन र साहिलको मिलनसार स्वभाव र नम्र बोलीले उनीहरूका ग्राहकहरूलाई प्रभावित पार्छ । अनुहारमा सधैं मुस्कान लिएर ग्राहकहरूलाई मिठो स्वागत गर्छन् । ‘हामीलाई ग्राहकहरू भगवान् जस्तै लाग्छन्, ‘आयन भन्छन् । जनकपुरधामबाट आएकाहरूको भने विशेष सत्कार हुने गर्छ । माता सीताको नगरिबाट आएका ग्राहकहरूले लड्डु नखाएको दिन त उनीहरूका लागि अपूर्ण नै हुन्छ ।
‘जनकपुरधामबाट कोही आइपुग्दा हामी खुसीले भरिन्छौँ, ‘साहिल मुस्कुराउँदै भन्छन्, ‘किनकि उनीहरूको आगमनले हामीलाई हाम्रो गाउँको झल्को दिन्छ । कहिलेकाहीँ मिठो लड्डु निःशुल्क नै दिन्छौं ।’
आयन र साहिलले विगत ८ वर्षदेखि मोमफली र लड्डु बेच्दै आफ्नो सपनाहरूलाई कुनै बेला हराएको महसुस गर्छन् । उनीहरूले शिक्षाको अवसर गुमाए । आफ्ना बाल्यकालका मित्रहरूलाई छुटाए । तर, जीवनलाई अगाडि बढाउन कुनै पनि मूल्य चुकाउन तयार छन् ।
‘म सधैं सोच्थेँ कि म भविष्यमा ठूलो मान्छे बन्छु,’ आयनले गम्भीर स्वरमा भने, ‘तर अहिले मेरो सपना भनेको हामी दुई साथीले राम्रो कमाई गरौं र हाम्रो परिवारलाई सहयोग गरौं भन्नेमै सिमित छ ।’
साहिलले पनि सहमति जनाउँदै भने, ‘यो ठेला हाम्रो जीवन हो । र, यसले नै हामीलाई बाँच्न सिकाएको छ । सपनाहरू त हामीसँग थिए । तर, यथार्थले तिनीहरूलाई किनारा लगायो ।’
जिम्मेवारी र आत्मसमर्पणले थिचिएका यी यी दुई साथीहरूलाई हेरेर उनीहरूले सधैं प्रश्न उठाउँछन्, ‘केही दिनमा हाम्रो सपना पनि फुल्ने छ कि ?’ अहिलेसम्म यो ठेला नै उनीहरूको जिन्दगी हो । र, यही ठेलामा नै उनीहरूको सपना पनि सुरक्षित छ ।