–ज्योति झा
जनकपुरधाम, ७ माघ । जीवनको यथार्थ कुनै परीकथा जस्तो सरल र सुमधुर हुँदैन । यसमा खुशीका पलहरु हुन्छन् भने दुःखका दिन पनि अटाएका हुन्छन् । तिनै दुःख र चुनौतीलाई पार गर्ने साहस र शक्तिको खोजीमा एक महिला जीवनको कठिन बाटो हिँडिरहेकी छिन् । रेखाको जीवन यस्तै संघर्षको कथा हो, जहाँ साहस र समर्पणको सन्देश छ ।
रेखा एक सामान्य परिवारमा जन्मेकी थिइन् । महोत्तरीको बनौलीमा जन्मेकी रेखाको जीवनका प्रारम्भिक वर्षहरू सामान्यतया संघर्षमय थिए । उनका तीन बहिनी थिए र उनी सबभन्दा कान्छी थिइन् । उनी केवल ५ कक्षासम्म पढ्न सकिन । त्यसको पछाडिको कारण थियो घरको आर्थिक अवस्था र समाजको दबाब । समाजले यसो भनेको थियो, “छोरीलाई पढाएर के गरिन्छ, बिहे गरेर घर सम्हाल्ने त हो, पढेपछि बिहे हुँदैन ।“ यी शब्दहरूले रेखाको मनमा गहिरो छाप छोडे ।
तर, यस्ता सोच र परम्पराहरुका बीचमा पनि रेखाले हार मानिनन् । उनको मनमा पढ्ने इच्छा थियो, तर घरको परिस्थिति र समाजका थुप्रै निषेधात्मक सोचले उनलाई अघि बढ्न दिइरहेको थिएन । यस्तो अवस्थामा रेखाले आफैंलाई सम्हालेर जीवनमा नयाँ मोड खोजेकी छिन् । चार सन्तानकी आमा रेखा विन मुखियाको जीवन सानैदेखि संघर्षमय रह्यो ।
‘पढने इच्छा त धेरै थियो तर घरको आर्थिक अवस्था र छोरी मान्छे भएको ट्यागले गर्दा पढन पाइन,’ रेखा भन्छिन,‘ परिवार भन्दा पनि समाजलाई समस्या हुन्छ । छोरी हो पढेर के गर्छ, भोलि बिहे गरेर घर नै सम्हाल्ने हो, पढेपछि बिहे हुँदैन । छोरीलाई उमेरमै बिहे गर्दा राम्रो हुन्छ नत्र नाक कटाउँछलगायतका थरिथरिका कुरा काट्नु हामी छोरीका लागी सामान्य भइसकेको छ । आर्थिक अवस्थाको कारणले पनि मैले पढ्न पाइन् ।’
उनले भनिन्, ‘कोठा भाडामा लिएर बस्न थाले । पेट पाल्न र बच्चालाई राम्रो शिक्षाका लागि रोजगारी आवश्यक थियो । त्यतिखेर नोबेल स्कूलमा मैले काम पाएँ । घण्टी बजाउनु देखि लिएर पानी खुवाउने र बढार्ने काम गर्थें । ड्युटिमा हुँदा कतियौं दिन त राति ८ पनि बज्थ्यो । तर, त्यहाँ १ महिना काम गरेपनि पैसा पाइन । अरु दिन सबै पकाएको मिठो हुन्थ्यो, एकदिन चाउमिन बनाउन भनियो, अलि अबेर हुँदा धेरै गाली सुन्नु पर्यो । मैले काम छोड्दिए ।’
त्यसपछि उनी न्यूरो अस्पतालमा काम गर्न गइनँ । तर, त्यहाँ आइसियुमा कहिलेकाहीं कुनै सामान पुर्याउनु पर्दा विरामीको अवस्था हेरेर उनी आफैं ढलेर बेहोस हुन्थिन । उनलाई डरले श्वाँस लिन पनि गार्हो हुन्थ्यो । उनको हिम्मतले काम गर्न छाडेपछि एक हप्तामै काम छाडिन ।
पछि ठेला लगाएर भुजा बेच्न थालेको उनको व्यथा छ । रेखाको जीवन कहिल्यै सामान्य थिएन । तर, उनी आफ्नो बच्चाको लागि मेहनत गर्न पछि हटिनन् । उनी आफ्नो बच्चालाई राम्रो शिक्षा दिन चाहन्छिन् । उनका बच्चा बालमन्दिर सरकारी विद्यालयमा पढदैछन् । उनलाई स्वतन्त्रता र आत्मनिर्भरताको चाहना छ । उनले आफ्नो अवस्थालाई बलियो बनाउन मौकाको खोजी गर्दै कहिल्यै हार मानिनन् ।
एक वर्षदेखि उनी राराब क्याम्पस भन्दा पर पिपलको बोटनिर चटपटे, चप, कचरीको ठेला लगाउँदै आएकी छिन् । उनी भन्छिन्, ‘म खुशी छु, सन्तुष्ट छु । कहिलेकाहीं दैनिक २ हजारदेखि २५ सयसम्म आम्दानी हुन्छ । १ हजारको सामान ल्याउँछु, १ हजार बँच्छ । पसलमा बेलुका तिर मान्छे भरिभराउ हुन्छ । स्वादिलो चप, तरुवा खान प्रायः मान्छे पुग्छन् । आज म खुशी छु, मलाई कसैको पनि सुन्न पर्दैन, कसैको गाली खानु पर्दैन ।’
उनले भनिन्, ‘अहिले बुढोबाहेक प्रायः सबै ठिक छ । उनी पैसा कमाउन त कमाउँछन् तर आफ्नो सबै पैसा रक्सिमै उडाउँछन् । मैले उनलाई सुधार्ने धेरै प्रयास गरें । मैले हरसम्भव सबै प्रयास गरेपनि केही नलागेर अन्त्यमा निरिह बनेकी छु ।’
हाम्रो समाजमा महिला र पुरुषप्रति दोहोरो नियत राखिन्छ । पुरुषलाई महान ठानिन्छ । घर चलाउने, घरपरिवारको जिम्मेवारी उठाउने, श्रीमतीको सबै रहर पुरा गर्ने पुरुषको काम हो । तर, पुरुषले आफ्नो जिम्मेवारी उठाउँदैन भने महिलाले मात्र किन सह्ने ?
भर्खर २७ वर्ष पुगेकी रेखा ४ सन्तानको जिम्मेवारी उठाउँदै आफ्नो बच्चाको भविष्य बनाउनमा व्यस्त छिन् । रेखा भन्छिन, ‘मेहनत र संघर्ष गरिए चाहेको सबै पूरा हुन सक्छ । परिस्थिति जस्तोसुकै होस् हार मान्नुहुँदैन । बरु बाटो खोज्नु पर्छ ।’ बच्चाको उज्वल भविष्यका लागि उनी दिनरात मेहनत र कोशिसमा लागेकी छिन् ।
रेखाको जीवन यति संघर्षमय भए तापनि उनले सधैं आफ्नो बच्चाको भविष्यलाई प्राथमिकता दिएकी छिन् । उनी एक्काइसौं शताब्दीको एक जागरूक, साहसी र आत्मनिर्भर महिला बन्ने सपना बोक्छिन् । रेखा आफ्नो सन्तानलाई राम्रो शिक्षा दिने, राम्रो भविष्य बनाउने र जीवनको संघर्षलाई उनी आत्मविश्वासका साथ सामना गरिरहेकी छिन् ।
रेखा एक उदाहरण हुन् कि महिलाले आफ्ना अधिकारका लागि, शिक्षा, स्वास्थ्य, सुरक्षा र समान अवसरको प्राप्तिका लागि निरन्तर संघर्ष गर्नुपर्छ । समाजले सधैं स्त्रीलाई कमजोर रूपमा हेर्ने धारणा बनाउन खोजेको भएपनि रेखाले यथार्थलाई चिन्न र आफ्नो मेहनत र संघर्षको आधारमा आफूलाई प्रमाणित गरिन् ।
तर, रेखा केवल आफ्नै परिवारको भविष्य बनाउन मात्र उत्साहित छैनन्, उनले समाजमा महिला अधिकार र समानताको सन्देश पनि पुर्याइन् । उनी भन्छिन, ‘महिला शक्ति भनेको केवल साहस र धैर्य होइन, यो महिला स्वावलम्बन र आत्मनिर्भरताको प्रतीक हो ।’ रेखाको यो मानसिकता र दृष्टिकोणले महिलाहरूलाई आफ्नो जीवनका चुनौतीहरूसँग लड्न र समाजमा परिवर्तन ल्याउन प्रेरित गर्छ ।
जीवनका पाटोमा रेखाले गहिरो संघर्ष र विषमताका बीचमा पनि खुशी र आशाको बीजारोपण गरेकी छिन् । उनका कसम, उनका आँसु र उनका सपनाहरूलाई सम्झेर हामी यी शब्दहरूको महत्त्व थाहा पाउँछौं कि, ‘जति पनि कठिनाइहरू आउँछन्, जबसम्म म संघर्ष गरिरहेको छु, म हार्ने छैन ।’