ज्योति झा
जनकपुरधाम, ३ माघ । जनकपुरधामको इतिहास र परम्परामा गहिरो नाता राख्ने एउटा प्रतिष्ठित नाम हो– बिन्धिको ‘दही पसल’ । यो दही पसल केवल एक व्यापार मात्र होइन, तीन पुस्ताको संघर्ष, समर्पण र परिश्रमको परिणाम हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ बिन्धिस्थित यो दही पसल तीन पुस्ताको पिढीको संघर्ष र परिश्रमको प्रतीक हो ।

यो दही पसलको शुरुवात एउटा पुरानो पान पसलबाट भएको थियो, जहाँबाट मोहन मण्डल धानुकले आफ्नो व्यवसायिक यात्रा आरम्भ गरेका थिए । उनले न केवल आफ्नो परिवारको पेट पाल्न, बल्कि भविष्यका लागि केही सकारात्मक बनाउने सोच राखेका थिए । पान पसलमा बिताएका ती दिनहरू उनी र उनका परिवारका लागि कडा संघर्ष थियो । आज तीन पुस्ताको दही पसलले जनकपुरधामको एक प्रमुख व्यवसायको रूपमा ख्याति पाएको छ ।

पाँच दशकभन्दा बढीको परिश्रमले यो दही पसल जनकपुरधामको एक प्रमुख व्यवसायको रूपमा स्थापित भएको छ । यहाँ पुग्ने प्रत्येक ग्राहकको ओठमा यस पसलको नाम मिठासको रूपमा गुञ्जन्छ ।

पहिलो पुस्ता : मोहन मण्डल र उनको संघर्ष

मोहन मण्डल धानुक एक सरल र मेहनती व्यक्ति थिए । आफ्नो जीवनका आरम्भिक वर्षहरूमा उनले पान पसलबाट व्यवसाय शुरुवात गरेका थिए । त्यो बेला व्यापार गर्ने तरिका र बजारको अवस्था अहिले जस्तो थिएन । व्यापारले उनलाई कहिलेकाहीं निराश पारे पनि उनले कहिल्यै हार मानेनन् । आफ्ना छोरा विश्वनाथलाई उनले व्यवसायमा सघाउनका लागि प्रेरित गरिरहे ।

‘मेरो पिता मोहनले पान पसलबाट व्यवसायको शुरुवात गरेका थिए,’ ९३ वर्षीय विश्वनाथ मण्डल भन्छन्, ‘म उनलाई पसमै सघाइरहेको हुन्थेँ ।’ मोहनको मेहनत र विश्वनाथको लगनशीलताले व्यापारको क्षेत्रमा स्थिरता ल्याउन सफल भयो । विस्तारै मोहन मण्डलको पान पसलबाट उदाएको थियो एक सफल दही पसल, जुन अब जनकपुरधामका घर–घरमा प्रख्यात छ ।

दोस्रो पुस्ता : विश्वनाथ र वृजलाल मण्डलको परिश्रम

विसं २०२६ सालमा विश्वनाथ मण्डलले आफ्नो पिता मोहन मण्डलको पान पसलबाट दही पसल सञ्चालन गर्न थाले । त्यो समय एकदमै कठिन थियो । तर, विश्वनाथ र उनका छोरा वृजलालले जसरी व्यवसायिक चुनौतीहरूको सामना गरे त्यो एक प्रेरणाको रूपमा छ ।

‘त्यतिबेला दही पसल सञ्चालन गर्नु एक ठूलो चुनौती थियो,’ विश्वनाथ सम्झन्छन्, ‘तर कडा मेहनत र विश्वासको परिणाम स्वरुप पसल बढ्दै गयो । त्यो समयका ठूला र प्रतिष्ठित व्यक्तिहरू हाम्रो पसलमा आएर दही खान्थे, त्यसपछि हाम्रो दहीको प्रतिष्ठा देशभर फैलियो ।’

बिन्धिको दही सस्तो र स्वादिलो मात्र नभई प्रख्यात पनि भयो । नेपालभरका विभिन्न शहर र गाउँका ग्राहकहरूले बिन्धिको दही खोज्न थाले । विश्वनाथ र उनका छोरा वृजलालले एकसाथ मिलेर दही पसललाई सम्हाले । वृजलाल पनि पितासँगै पसलमा सघाउँथे र यसैले परिवारलाई आर्थिक समृद्धि दिएको थियो ।

तेस्रो पुस्ता : रञ्जित मण्डल र व्यवसायको चुनौती

२०७० सालदेखि विश्वनाथ मण्डलको नाती रञ्जित मण्डलले पसलको जिम्मेवारी सम्हाल्नु सुरु गरे । ४० वर्षीय रञ्जितले परम्परागत व्यापारलाई निरन्तरता दिँदै दही पसललाई अझ बढाउने योजना बनाए । तर, वर्तमान समयको चुनौतीहरू भने फरक देख्छन् रञ्जितले । अहिले व्यवसायको अवस्था कमजोर हुँदै गएको र दहीको माग पनि घटेको उनको भनाइ छ ।

रञ्जितले भने, ‘पहिले हामीलाई ७० किलो दही दैनिक बिक्री हुने गरेको थियो । अहिले जाडो महिनामा ३० किलो मात्र बिक्री भइरहेको छ ।’ उनले दुधको आपूर्ति गर्न समस्या भइरहेको सुनाए । बजारमा प्रतिस्पर्धा बढ्दै गएको र ग्राहकहरूको संख्या घट्दै गइरहेको उनको भनाइ छ ।

तैपनि रञ्जितले व्यवसायलाई निरन्तरता दिने प्रयास जारी राखेका छन् । उनले व्यवसायलाई अगाडि बढाउन ग्राहकहरूको चासो अनुसार पेडा र खुवा बनाउन पनि सुरु गरेका छन् ।

‘हाम्रो दहीको नाम आज पनि प्रसिद्ध छ,’ रञ्जित भन्छन्, ‘तर त्यस्तो ठूलो ग्राहक संख्या अहिले छैन । बाजेको पालामा जस्तै ग्राहकहरू अब आउँदैनन् । अहिले २५ प्रतिशत मात्र ग्राहक आउँछन् ।’

रञ्जितले आफ्ना सन्तानहरूलाई यो व्यवसायमा प्रवेश नगरी आफ्नो पढाइमा ध्यान दिन र जागीरतर्फ लाग्न सल्लाह दिन्छन् । अहिलेको प्रतिस्पर्धी बजारमा परम्परागत व्यापारले छिटो मुनाफा दिन नसक्ने भएकोले सन्तानहरुलाई अर्को क्षेत्रमा करियर बनाउन प्रेरित गर्नु नै सही रहेको रञ्जितको बुझाइ छ ।

रञ्जित २०६२ सालमा विदेश पनि गएका थिए । उनका लागि विदेश जानु र नयाँ अवसरहरूको खोजी गर्नु भनेको आफ्नै परिवारको भविष्यलाई सुरक्षित बनाउनका लागि एक प्रयास थियो । तर, एजेन्टको गल्तीका कारण उनले विदेशमा दुई वर्ष मात्रै बिताए । र, पछि नेपाल फर्किए ।

‘जब म फर्किए, मेरो हजुरबुवा शारीरिक रूपमा कमजोर भएको देखेपछि मैले पसलको जिम्मेवारी लिन थाले,’ रञ्जित सम्झन्छन् । रञ्जितको यो कदमले परिवारको व्यवसायलाई थप मजबुती दिएको छ ।

रञ्जितले आफ्नो हजुरबुवाको पसललाई निरन्तरता दिएका छन् । उनी अहिले व्यवसायसँग पूर्ण सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘अहिले व्यापार कमजोर देखिएको छ । र, भविष्यमा पनि यस्तै देखिन्छ सायद । मेरो सन्तानलाई मैले अब दही पसलको कारोबारमा आउन सल्लाह दिने छैन । म उनीहरुलाई आफ्नो पढाइमा ध्यान दिन र जागीरतर्फ लाग्न सुझाउँछु ।’

तीन पुस्ताको यो यात्रा सरल होइन । मोहन मण्डलको पान पसलदेखि विश्वनाथ र वृजलालको दही पसलको सफलताको यात्रा र रञ्जितको संघर्षले यसलाई जिवन्त राखेको छ । व्यापारको बदलिँदो प्रवृत्तिलाई हेरेर रञ्जितले आफ्नो परिवारलाई भविष्यका लागि नयाँ दिशा दिने प्रयास गरेका छन् ।

दही पसलको यो यात्रा तीन पुस्ताको तपस्या, संघर्ष र परिवारको साथका कारण मात्र सम्भव भएको हो । यद्यपि व्यवसाय कमजोर भएको महसुस भइरहेको छ । तर, यो दही पसलको नाम र प्रतिष्ठा सधैं जनकपुरधाममा जीवित रहने छ । यस पसलमा तीन पुस्ताको परिश्रम र समर्पण गुञ्जिरहेको छ ।