जनकपुरधाम, ११ पुष । २०७९ साल जेठ १० गते सपथ ग्रहणपश्चात् पदभार ग्रहण गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन गर्ने पहिलो निर्णय गरे । उपमहानगरभित्र विगतमा सरसफाइको कार्य नगरकार्यपालिकाको कार्यालयद्वारा भइरहेकोमा अबउपरान्त नगरका सबै वडामा आवश्यक जनशक्ति तथा सरसफाइका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने र यसका लागि २५ वटै वडा कार्यालयलाई सरसफाइको जिम्मेवारी प्रदान गर्ने नगरप्रमुख साहले निर्णय गरे । फोहोर व्यवस्थापनका लागि उपमहानगरका सबै वडा कार्यालयलाई ट्याक्टर र सरसफाइ कर्मचारी उपलब्ध गराइने निर्णय पनि नगरप्रमुख साहले गरे । तर, उनी निर्वाचित भएको साढे २ वर्षभन्दा बढि भएपनि नगरभित्रको फोहोर जस्ताको त्यस्तै छ । नगरको अधिकांश क्षेत्र अहिलेपनि दुर्गन्धित नै देखिन्छ । फोहोर व्यवस्थापनतर्फ न त उपमहानगरलाई कुनै चासो छ न कुनै वडाका वडाध्यक्षलाई ।

स्मार्ट सिटीको आशामा बसेका जनकपुरधामबासी अहिले नगरक्षेत्रभित्रको दुर्गन्धले आजित बनेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा नगरक्षेत्र दुर्गन्धित बन्दै गइरहेको हो ।

फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) नभएपछि व्यापारीले आफ्नो पसलबाट निस्कने फोहोर सडक किनारमा फाल्ने गरेका छन् । सडक किनारमा फालिएको फोहोरसमेत उपमहानगरले नउठाउँदा समस्या बढेको देखिन्छ ।

जनकपुरधामको प्रमुख चोकहरू पुरानो बसपार्क, भैरवचोक, राजदेवी मन्दिर, विश्वकर्मा चोक, विद्यापति चोक, जानकी चोक, रामानन्द चोक, पीडारी चोक, पुलचोकसहितका स्थानहरूमा फोहोर व्यवस्थापन नहुँदा शहर कुरूप देखिएको छ ।

जनकपुरधाम उपमहागरपालिकाले सरसफाइमा ध्यान नदिएकाले सहर कुरूप बनेको स्थानीय युवा सरोज मिश्रले बताए । उनले भने, ‘सहरको सुन्दरतासँग हाम्रो यो मेयर साहबलाई पनि कुनै मतलब छैन, नगरलाई सुन्दर बनाउने कुनै योजना पनि छैन ।’

वर्षौँदेखि सडकमा फालिने फोहोरले नगरवासीको स्वास्थ्य तथा बजार क्षेत्रको सुन्दरतामा असर पारिरहेको छ । उपमहानगरपालिकाको कार्यालयले व्यवस्थापनमा ध्यान नदिएको भन्दै नगरवासीहरूले गुनासो गर्दै आएपनि सुनुवाइ भने अहिलेसम्म भएको छैन । स्थानीय बासिन्दाले फोहोर फाल्ने ठाउँको व्यवस्था नभएकाले सडक किनारमै फाल्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

स्मार्ट सिटीको परिकल्पना गरेको जनकपुरधाम बजारमा दुर्गन्ध बढ्दै गएपनि उपमहानगरपालिकाको ध्यान नगएको बताउँदै अर्का स्थानीय सुभाष कर्णले भने, ‘चुनाव जितेपछि जनकपुरधामको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने मेयर साहबले वाचा गरेका थिए । तर, उनको त्यो वाचा अझै पानामै सीमित छ ।’ उपमहानगरले फोहोर नउठ्दा प्रदेशको राजधानीकै चोक–चोकमा थुप्रो जम्मा भएको छ ।

जनकपुरधाममा च्याउझैँ सञ्चालन गरिएका औषधि पसलहरूले समेत सरसफाइ अभियानलाई चुनौती दिँदै सहर कुरूप हुने गरी फोहोर जथाभावी फाल्दा नगरक्षेत्रभित्र दुर्गन्ध फैलाउन थालेका छन् । प्रादेशिक अस्पताल रोडमै औषधि पसल र क्लिनिकबाट निस्किएका मेडिकलजन्य फोहोर र सिरिन्ज जथाभावी रूपमा फालिएका देखिन्छन् ।

यहाँका औषधि पसल, निजी क्लिनिक र अस्पतालहरूले प्रयोगमा ल्याइसकेका मेडिकलजन्य फोहोर जथाभावीबीच सडकमै फाल्दै आएकोले सडक भएर हिँड्ने यात्रु बढी मारमा परेका छन् ।

स्थानीय सतिश कर्णले चुनावमा स्मार्ट र स्याटलाइट सिटी बनाउँछौं भनेर झुठा आश्वासन बाँडेका जनप्रतिनिधिहरु अहिले बस्तीमा फोहोरको विशाल थुप्रो जम्मा भएपनि सरसफाइप्रति कुनै चासो नदेखाएको गुनासो सुनाए । ‘उपमहानगरको बेइज्जत हुनु विडम्वना भएको छ,’ उनले भने, ‘उपमहानगरले तत्काल फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ ।’

अव्यवस्थित व्यवस्थापनका कारण माता सीताको जन्मस्थल पवित्र भूमि जनकपुरधाम कुरुप बन्दै गएको देखिन्छ । जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई व्यवस्थित गर्न नसक्दा नगरक्षेत्र कुरुप बन्दै गएको हो । नगरको पिडारीचोकदेखि विमानस्थल चोकसम्म अव्यवस्थित बजार व्यवस्थापनका कारण नगरक्षेत्र कुरुप देखिन थालिएको छ ।

यही मार्ग हुँदै स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ पर्यटक जनकपुरधाम पुग्ने गर्दछन् । सडकछेउमै अव्यवस्थित व्यवस्थापनका कारण यहाँ आउने पर्यटकहरूको मानसिकतामा नकारात्मक प्रभाव परिरहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

नगरलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने अवधारणाअन्तर्गत नगरक्षेत्रलाई व्यवस्थापन गर्न सकिए जनकपुरधामको हकमा सबै दृष्टिकोणले फाइदाजनक साबित हुने यहाँका बुद्धिजिवीको भनाइ छ ।

जनकपुरधाममा नेपालका साथै छिमेकी मुलुक भारतको दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, सिमला, उत्तराखण्डलगायतका राज्यहरूबाट समेत दैनिक हजारौँको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन् ।

पर्यटकमा नकारात्मक प्रभाव

कबाडी सामान, बाटो छेउका अव्यवस्थित व्यवसायले प्रायः सबै सडकहरू कुरुप बनाएको छ । दैनिक हजारौँ पर्यटक आवतजावत गर्ने जनकपुरधामस्थित जानकी मन्दिर छेउछाउमा अव्यवस्थित रुपमा रहेका पसलहरूले पर्यटक र व्यवसाय दुवैमा नकारात्मक प्रभाव परेको स्थानीय सुभाष कर्णले बताए ।

संस्कृतिविद् डा. राजेन्द्र विमलले पर्यटकलाई पवित्रभूमि जनकपुरधाम छिर्दा प्रदूषित वातावरणको सामना गर्नुपर्ने अवस्था रहेको बताए ।गौरवशाली इतिहास बोकेको जनकपुरधामलाई व्यवस्थित गर्न सके अझ पर्यटकको संख्या बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।

यस सम्बन्धमा स्थानीय डाक्टर अजय झाको छुट्टै धारणा छ । उनी भन्छन्, ‘अचेल जनकपुरधाममा जताततै ठूलो पर्यटकीय बसहरू पार्किङ गरिएको पाइन्छ । सडकको पेटिहरूमा दर्शनार्थीहरूले खाना पकाउँदै गरेको दृश्यहरूसमेत हेर्न पाइन्छ । यहाँ आउने पर्यटकहरूले आफ्नो खानाका सामग्री, ग्यासलगायत बोकेर आउने एवं स–साना कुटीहरूमा समय बिताउने गरेका छन् । पर्यटकीय व्यवस्थापन नहुँदा जताततै अस्तव्यस्त एवं फोहोरमैला मात्र भएको देखिन्छ । यसको व्यवस्थापनका लागि यहाँ कुनै निकाय नै नरहेको बुझिन्छ ।’

यस विषयमा उपमहानगरपालिकाको नेतृत्वलाई पटक–पटक सुझाब दिएपनि कार्यान्वयनमा कुनै चासो नदेखाएको उनको गुनासो छ ।

आर्थिक समृद्धिका लागि पर्यटन उद्योगलाई मेरुदण्ड मान्ने गरिएको छ । प्रशस्त धार्मिक पर्यटन क्षेत्र रहेको प्राचीन मिथिलाको राजधानी र अहिले मधेस प्रदेशको राजधानी पनि जनकपुरधामनै रहेकाले पर्यटन क्षेत्रको तीव्र विकास हुनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

जनकपुरधामको कला, संस्कृति, भेषभूषा तथा मिथिला कलालाई जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय बजारसम्म पुर्याउन सके पर्यटनका साथै अन्य व्यवसायसमेत फस्टाउनेमा दुईमत नरहेको स्थानीय बताउँछन् ।

जनकपुरधामका आकर्षक पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउन स्थानीय सरकार, प्रदेश सरकार र पर्यटन व्यवसायीबीच समन्वय आवश्यक देखिन्छ ।

नगरप्रमुख साहको यस्तो थियो प्रतिबद्धता

जनकपुरधाम उपमहानगरपलिकाको नगरप्रमुखमा निर्वाचित भइसकेपछि मेयर मनोजकुमार साहले ‘हाम्रो जनकपुरधामः राम्रो जनकपुरधाम, सुन्दर जनकपुरधाम र सफा जनकपुरधाम’ बनाउने प्रतिबद्धताका साथ आफू अगाडि बढ्ने बताएका थिए ।

उनले जनकपुरधाम उपमहानगरपालिकाभित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने, फोहोर व्यवस्थापनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिने, फोहोर व्यवस्थापन कार्यमा आधुनिक तथा वैज्ञानिक प्रणाली अपनाई यसबाट घरेलु कार्यमा प्रयोग हुने ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गरी कृषिकार्यमा जैविक प्रविधिको प्रोत्साहन तथा जनस्वास्थ्यमा पर्ने नकारात्मक असरको जोखिम न्यूनीकरण गर्ने, आवश्यकताअनुसार सामुदायिक संस्था एवं निजीक्षेत्रको सहभागितामा समेत फोहोर व्यवस्थापनमा तीव्रता ल्याइने दाबी गरेका थिए ।

नगरप्रमुख साहले जनकपुरधाम उपमहागरपालिकाका प्रत्येक वडामा यथासम्भव हुनेगरी सुरक्षित एवं साधन सम्पन्न फोहोर संकलन केन्द्र स्थापना तथा सञ्चालन गरिने, फोहोर संकलन केन्द्रबाट तत्काल फोहोर मैला ल्यान्डफिल साइटसम्म पुर्याउने व्यवस्था गराइने, सडकपेटी व्यवस्थापन गरी व्यवसायी तथा पर्यटकमैत्री बनाइने, ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाको मर्मत सम्भार, नियमित रेखदेख तथा थप सौन्दर्यीकरण गरिनेलगायतका प्रतिबद्धता पनि गरेका थिए ।

साथै जनकपुरधामको आर्थिक गतिविधिका एउटा प्रमुख स्रोतका रूपमा पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने, जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्वका बाह्रबिघा (रंगभूमि) मैदानलाई स्वच्छ, सफा, हराभरा बनाइने समेत उनले प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै, विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यीकरण मार्फत रमणीय ठाउँका रूपमा विकास गरिने, उपमहानगर क्षेत्रभित्र सुरक्षा प्रबन्धनका लागि आवश्यक ठाउँमा चौबिसै घण्टा काम गर्नेगरी सिसिटिभी क्यामरा जडान गराइने तथा सबै वडालाई फ्री इन्टरनेट वाइफाइ क्षेत्र बनाइने मनोजको प्रतिबद्धता थियो ।

जनकपुरधाम विमानस्थलको स्तरोन्नतिका लागि सम्बद्ध निकायहरूसँग गम्भीर समन्वय गरिने तथा पर्यटकीय सहर वा क्षेत्रसँगजोड्न विमानसेवा सञ्चालन गराउन पहल गरिने, उपमहानगलाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारका रूपमा आउटर रिङरोडसँगै अन्य भौतिक तथा मानवीय पूर्वाधार तयारीमा आरम्भबाटै जुट्ने प्रतिबद्धता पनि उनले जनाएका थिए ।

उपमहानगरको कामकाज पारदर्शी बनाउन उपमहानगरपालिकाद्वारा गरिने कामबारे नियमित जानकारी प्रदान गरिने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई उपमहानगरपालिका र मातहतका कार्यालयमा प्रशासन यन्त्रलाई चुस्तदुरुस्त बनाई सेवा प्रवाहमा सरलता एवम् सहजता ल्याइनुका साथै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन, उजुरी र गुनासा सुन्ने तथा तत्काल समाधान गर्ने हटलाइनको व्यवस्था गरिने उनले बताएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाबाट लामखुट्टे नियन्त्रण गर्न दीर्घकालीन नीति बनाई कार्यान्वयन गर्ने, दलित, जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक पहुँच बढाई आत्मनिर्भर बनाउन कार्ययोजना बनाइने उनको प्रतिबद्धता थियो ।

उपमहानगरपालिका क्षेत्रभित्र रहेका ग्रामीण वडाहरूमा किसानलाई कृषिउपज बढाउनका लागि आवश्यक मलखाद, बिउबिजन, सिँचाइ सेवा, कृषिउपकरण र कृषिउपजको बजार व्यवस्थापन गरिने तथा कृषकका लागि चाहिने प्रविधिजन्य ज्ञान विस्तारका लागि कार्यक्रम ल्याइने, आधुनिक फलमन्डी निर्माण गराई फलफूलको व्यापार प्रवद्र्धन गरिने तथा फल व्यवसायीका लागि फलफूल आयातमा विशेष सहुलियतको व्यवस्था गरिनेलगायतका प्रतिबद्धताहरु उनले जनाएका थिए ।

मेयर मनोजले अतिविपन्न नागरिकहरूको पहिचान गरी आवासबाट वञ्चित भएका व्यक्तिहरूलाई घर बनाई हस्तान्तरण गरिने, २५ वटै वडासम्म सडक सञ्जाल तयार पारी सार्वजनिक परिवहनको व्यवस्था गरिने, उपमहानगरपालिकाभित्र अत्याधुनिक बस स्ट्यान्ड निर्माण गर्न पहल गरिने, जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनका साथै सेमीबोडर्स लगायतका विशेष कार्यक्रमहरू ल्याइनुका साथै स्वास्थ्य संस्थाहरूको गुणात्मक तथा संरचनात्मक विकास गरिने कुरामाथि आफ्नो जोड रहने बताएका थिए ।

तर, उनका यी दर्जनौं बाचाहरू मध्ये उनले अहिलेसम्म कुन–कुन काम गरेका छन् त्यो मूल्यांकन भने नगरबासीले पक्कै गरिरहेका होलान् ।