राजदेवीमा नगर तथा ग्रामीण पर्यटकको संख्या बढेपनि बाढिपहिरोका कारण आन्तरिक पर्यटकको संख्या घट्यो

जनकपुरधाम, १९ असोज । राजदेवी मन्दिर जनकपुरधाम उपमहानगरपालिकाको सबैभन्दा प्राचिन मन्दिरहरुमध्येमा पर्छ । राजदेवीलाई मिथिलाका जनकवंशी राजाहरुको कुलदेवीको रुपमा लिइन्छ । राजदेवी मन्दिरमा यहाँका स्थानीयले मन्दिरको धेरै दशकदेखि नै पूजा गर्दै आएका छन् ।
मन्दिरको गर्भगृहमा धातु वा ढुंगाको कुनै मूर्ति छैन । त्यहाँ माटोको ढिस्कोलाई कुलदेवीको रुपमा प्राचिनकालदेखि नै जनकवंशी राजाहरुले पूजाअर्चना गर्दै आएका थिए । राजदेवी माताको प्रतिकको रुपमा रहेको माटोको ढिस्कोलाई अहिले पित्तलको पाताले ढाकिएको छ । मन्दिर परिसरमा महावीर युवा कमिटीले टायल्स ओछ्याएर त्यसको आकर्षण अझै बढाएको छ ।
विजयादशमीमा यस मन्दिरमा देवीको पूजापाठ गर्नका लागि टाढाटाढाबाट लाखौंको संख्यामा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्छ । अहिले दशैँको बेला मन्दिरलाई नवबेहुली झैं सिंगारिएको छ । राजदेवी मन्दिरमा विजयादशमीको अष्टमी तिथीका दिन एकैदिनमा सबैभन्दा बली दिइने गरिन्छ ।
तर, यसवर्ष भने आन्तरिक पर्यटकको संख्यामा कमी आएको छ । महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले बाढिपहिरोका कारण देशको अवस्था जटिल बनेको र अधिकांश स्थानहरुको सडक सञ्जालमा क्षति पुगेकोले यसवर्ष काठमाडौं, पोखरालगायतका स्थानहरुबाट आन्तरिक पर्यटकहरु राजदेवी दर्शनका लागि आउन नसकेको हुनसक्ने बताए ।
अध्यक्ष गुप्ताले जनकपुरधाम र आसपासका गाउँहरुलगायत सीमापार बिहारका जिल्लाहरुबाट भने दैनिक १० हजारको संख्यामा पर्यटकहरु राजदेवीमा दर्शका लागि आइरहेको बताए ।
’जनकपुरधाम र आसपासका जिल्ला तथा बिहारबाट आएका पर्यटकका कारण राजदेवीमा चहलपहल बढेको छ,’ उनले भने, ’अन्य वर्ष चहलपहल बढि हुन्थ्यो तर यसवर्ष बाढिपहिरोका कारण आन्तरिक पर्यटकहरु आउन नसकेपनि आसपासका जिल्लाहरुबाट पर्यटकको संख्या भने बढेको छ ।’
सामाजिक तथा धार्मिक संस्थाहरूको अभिभावक नै समाज हो । समाजको स्नेह, सद्भाव, ममता, अपनत्व र योगदान प्राप्त गर्न भगवतीको शक्ति नै मुख्य प्रभावकारी भई धार्मिक पर्यटकको संख्यामा केही वृद्धि भएको देखिन्छ ।
सुन्दर र ऐतिहासिक, धार्मिक सम्पदाका कारण राजदेवी मन्दिर क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । नगर तथा ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


