–ज्योति झा
जनकपुरधाम, २२ साउन ।
मधुश्रावणी ‘मधु’ र ‘श्रावण’ शब्दको योग हो । ‘मधु’ अर्थात् जीवनको वसन्त ऋतु । ‘मधु’ फल–फूलबाट मधुमख्खी र ‘भ्रमर’ बाट सञ्चित गरिएको मधुको अर्थ दिन्छ भने श्रवणले बग्नुको अर्थ दिन्छ । मधुको सञ्चरण नै ‘मधुश्रावणी’ हो । यो पर्व सिमित जातजातिका मानिस मनाउँछन् । ब्राह्मण, कायस्थ, भुमिहार, देव र सोनार जातिले मनाउने यो पर्व धुमधाम र हर्सोल्लासका साथ मनाइन्छ । सबैभन्दा लामो पर्वको रूपमा मधुश्रावनी पर्वलाई बुझिन्छ । त्यही भएर यो पर्व अरु पर्व भन्दा फरक र विशेष छ । यो यस्तो एउटा पर्व हो जसमा पुरोहितको भूमिकामा रहेकी कथावाचिका महिला र उहाँ लगायत सुहागिनद्वारा नवविवाहितालाई आशीर्वाद दिइन्छ ।

मधुश्रावणीको उद्देश्य दाम्पत्य जीवनलाई सफल बनाउनु हो । यो पर्व नवविवाहिताले मात्र लिन्छन् । त्यो पनि विवाह गरेकै पहिलो साउन मासमा मात्र । आधा महिना लामो यस पर्वको निकै ठुलो विधि–विधान छ । मधुश्रावणी पर्व वैवाहिक जीवनलाई सफल बनाउने वा त्यस्तो ज्ञानबाट परिचित हुने अवसर हो । प्रत्येक वर्ष यो पर्व मनाइने भएपनि तिथिको हेरफेरले गर्दा कुनै–कुनै वर्षमा पूजा घट बढ्न जान्छ ।
मधुश्रावणी माइतीमा मनाइन्छ । माइतमै बसेर मनाइने भएपनि यसमा सबैथोक ससुरालीबाट आउँछ । जस्तै पूजाको सामान, श्रृंगारको सामान, नवविवाहितले खाने अन्न आदि । यसमा रातो, पहेंलो, हरीयो साडी नवदुलहीको लागी आउँछ । फूलटिप्नको लागी बेग्लै र पूजाको लागी बेग्लै साडी हुन्छ । त्यस्तै चुरा, चोलो, पोते र आभूषणहरू हुन्छ । र त्यही साडी, आभूषण र श्रृंगारको सामान नवदुलहीले लगाउँछन् । फुल टिप्न जानेलाई स्थानिय भाषामा फूललोढी भनिन्छ । यो पूजामा गौरीको पूजा महत्वपूर्ण छ । आजकल बिहे भएलगत्तै दुरागमन (गौना) गरी छोरीलाई ससुराली पठाउने चलन भएकोले ससुरालीमा पनि मधुश्रावणी पर्व मनाइने चलन थालिएको छ ।

पर्वको १४ दिनको पूजा विधि–विधानका लागि एउटा कोठा छुट्टयाइएको हुन्छ जसलाई कोवर रूम भनिन्छ । जसमा कोवर लेखिन्छ, सजाइन्छ । व्रतालुले दैनिक जाही, जुही, अगर, तगर, नीम, दाडिम तथा मेहदीको पात टिपेर ल्याउनुपर्छ । पूजाअर्चना मधुश्रावणी पर्वको आधार विधि हो भने कथा श्रवण पर्वको ध्येय हो । पर्वका दौरान अनेक पौराणिक कथाको वर्णन पाइन्छ । प्रत्येक दिनको निर्धारित विधिअन्तर्गत कुलदेवता, गौरीको गीत र पूजाअर्चना गरी कथाश्रवण गरिन्छ । यो पर्वमा व्रतालुले विनी अनिवार्य रुपमा सुन्नैपर्ने हुन्छ । र, यसमा मौना पञ्चमी कथा, विहुलाओ मनसाक कथा, पृथ्वीको जन्म,समुद्र मन्थन, सतीको कथा, पतिव्रताको कथा, महादेव परिवारको कथा, गंगाको कथा, गौरीको जन्म, कार्तिक जन्म, गणेश जन्म, बाल वसन्त जस्ता धेरै कथाहरू सुन्न पाइन्छ ।

मधुश्रावणी श्रावण शुक्ल तृतीयाको दिवसमा महत्वपूर्ण विधिका साथ सम्पन्न गरिन्छ । त्यस दिन नवविवाहिताको पुनः सिन्दुरदान हुन्छ । अर्थात् सिन्दुरदान पहिलोपटक विवाहमा, दोस्रोपटक चतुर्थीमा र तेस्रोपटक यही मधुश्रावणीमा गरिने परम्परा छ । मधुश्रावणीको अन्तिम चरण भनेको व्रतालुलाई टेमीको दागबत्ती दिनु हो । व्रतालुको दुवै घुँडामा पानको पात राखी दियोको लप्का पारिन्छ, यसलाई टेमी दिनु भनिन्छ । टेमी दिँदा दुलाहाले व्रतालुको दुवै आँखा छोपेका हुन्छन् र महिला पुरोहित वा विधकर्निले टेमीको दागबत्ती दिन्छन् । तर त्यही बेहुली गर्भवती छन भने सितल टेमि दिइने चलन छ । तर अहिले नव परिवेश, नव युगमा केहि नयाँ विचारधाराको लागि यो विधि अव्यवहारिक, अन्धविश्वासी, रुढीवादी परम्परा हो रे । जबकि यो धार्मिक सांस्कृतिक मान्यताको प्रतिक हो । यो विधि गर्नु डाम्नुको आफ्नै अर्थ छ । यो विधि गर्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सकिने दुःख, कष्ट, पीडा खेप्ने हुनुपर्छ भन्ने अर्थमा अर्थयाइएको पाइन्छ । कतिले त यसलाई महिला हिंसाको तथाकथित नाम पनि दिएका छन् ।

यसै सन्दर्भमा महोत्तरी परकौलीकि मिरा पाठक भन्छिन्, ‘मलाई अचम्म लाग्छ जब भाषणमा आफूलाई सीताको उपमा दिने तर सीताको अर्थ सायद बुझेकै हुँदैनन् ति दिदीबहिनीहरुले जसले यो पर्व त्योहारलाई रुढीवादी भन्छिन् । प्रकृतिले पनि महिलालाई गर्भधारण गर्ने अधिकार दिएको छ । पुरुष बच्चा जन्माउन सक्दैनन् तर महिलाले जन्म र स्तनपान दुइटै गर्न सक्ने क्षमता राख्छिन् । र, जब एउटी महिला बच्चालाई जन्म दिन्छन् भने ७ तहबाट बच्चा बाहिर आउँछ । चाहे त्यो प्राकृतिक होस् वा कृतिम तरिकाले होस् दर्द त्यतिकै हुन्छ । स्तनपान गराउँदा पनि बच्चाको दुधे दाँत आउँदा महिलालाई दर्द हुन्छ । खाना पकाउँदा पनि सिखारू होस् वा दक्ष जिवनमा एकपटक नै किन नहोस् तर पोल्छ नै । मेरो त प्रायः पोल्छ । हाम्रो पुर्खादेखि चलिआएको परम्परालाइ रुढीवादी भन्न एक सेकेण्ड पनि समय लगाउँदैनन् । जबकि यसमा अलिकति पोल्छ । हामी दिनहुँ यो भन्दा ठूलो पीडा भोग्छौं । चाहे त्यो शारीरिक होस् वा मानसिक । तर, अबका नवआगन्तुक पिढीहरुले परम्पराको नाम दिएर मनपरी परम्परा निर्माण गरिरहेका छन् । न त पश्चिमी सभ्यताका हुन्छन् नत हाम्रो मिथिला संस्कारकै पालना गरिरहेका छन् ।’

बाबा यौ पावन मोर लगचाएल पिया मोर नैहे एलखिन ना…..

यसै सन्दर्भमा नवविवाहिता कृष्णा पाठक झाले भन्छिन्, ‘टेमि नाम सुनेर भित्र अलि डर त लाग्छ । र यो स्वभाविक पनि हो । तर यो पर्वमा आनन्द पनि धेरै आउँछ । हाम्रो पूर्वजहरूको भनाइ अनुसार सृष्टि आरम्भदेखि नै मिथिलामा यो पर्व मनाइँदै आइएको छ । र, यो पर्व मिथिलाका नवविवाहिताका लागी धेरै महत्वपूर्ण मानिन्छ । तर विध फेरी विध जस्तो नै हुँदा राम्रो जानेर जबरदस्ती पोल्नु वा रुवाउनु राम्रो होइन् । विध त गर्नु पर्छ । हाम्रो आउने सन्ततिलाई सँस्कार, धर्म हामीले नै सिकाउनु पर्ने हो । तर त्यस्ता सोचका व्यक्ति जसले भन्छ टेमी डाम्नु अर्थात् कहिल्यै कुनै गल्ति भयो भने यसरी नै डाम्छु, डराउँछन । हामीमा दुरागमन अर्थात् विदाईमा डालाले टाउको थिचिन्छ । योे पनि विधि हो । तर कतिले भन्छ जस्तै डालाले थिचिन्छ यसरी नै ससुरालीमा दबेर, सहेर बुहारी बस्नुपर्ने हुन्छ अरे । तर यो सोच गलत हो । संस्कृति त राम्रै हो । अब सोच व्यवहार परिवर्तन भएको छ । सबै शिक्षित भएका छन् । सासु आमा हो भने बुहारी पनि छोरी हो भन्ने बुझ्न थालिएको छ । संस्कारलाई बचाउनु, संरक्षण गर्नु हाम्रो कर्तव्य हो । तर खुसी खुशी रमाएर भित्र मनदेखि पर्वको धर्मको सम्मान गर्नु बेस हुन्छ ।’

नवविवाहिता गुन्जा ठाकुरले भनिन् ‘मधुश्रावणी मनोरञ्जनात्मक त छँदैछ साथै यसले मैथिल विधिविधान समेत सिकाउँछ । मलाई त गर्व लाग्छ आफू मिथिलानी भएकोले । झन मधुश्रावणीले त मैथिली संस्कारको विधिविधानबारे मलाई अझ जानकार हुने अवसर जुरायो । उनले अगाडि भनिन, ‘यस पर्वले एक नारी कतिसम्म सहनशील धैर्यवान हुन सक्नुपर्छ भन्ने कुराको ज्ञान समेत प्रदान गरेको छ । म त एकदम आनन्दित भएर मनाउँदै छु यो पर्व । आजभन्दा पहिला अरूलाई हेर्थे तर किन गर्छ यसको गहिराइ थाहा थिएन । आफूले गर्दा र यो पर्वको कहानी बुझ्दा मलाई हरेक दिन गर्व हुन्छ । मेरो संस्कृतिप्रति सम्मान जाग्छ । कतिले त यहाँसम्म भन्दिन्छन् यो टेमी प्रथाको अन्त्य होस् । यो महिला हिँसा हो रे । अधिकारकर्मीहरुले पनि बेला बेलामा आवाज उठाएकै छन् । तर यो हाम्रो संस्कृति, हाम्रो अभिमान, गौरव हो । हाम्रो पुर्खाले दिएको विरासत हो । र, यसलाई जोगाउने काम हामी नव पिँढीको हो ।‘

पीडा केमा छैन् ? खाना पकाउँदा पनि पोलिन्छ । त्यसो भए खाना पकाउन छोडदिँदा हुन्छ ? वा बच्चालाई जन्म दिँदा त झन असहय पीडा हुन्छ । त्यसो भए बच्चा जन्माउनु पनि शोषण हो कि ? यो पर्व सोहाग भाग्यको लागि हो । झन यो समयमा त हामी आफूलाई महारानी भन्दा कम ठान्दैनौं । न त घरको काम गर्न दिइन्छ । न कुचो छुन दिइन्छ । न त जुठो उठाउन । मात्र श्रृंगार गर्ने नयाँ नयाँ वस्त्र धारण, फूल टिप्न जाने, कथा सुन्ने र धेरै कुरा सिक्न पाउने । झन फुल टिप्न साथीहरूसंग जाँदा विभिन्न लोक मैथिली गीतहरू गाउँदै बाटो बाटो डुल्दै फूल टिप्नुले बालपनको आभाष गराउने गरेको गुन्जाले बताइन ।

त्यस्तै नवविवाहिता सोनी साधना मिश्रा भन्छिन्, ‘कुनैपनि पर्व त्योहारको आफ्नै विशेषता हुन्छ । त्यसमा जीवनउपयोगिता ज्ञान विज्ञान हुन्छ । मधुश्रावणी विवाह पछिको हाम्रो संस्कृतिमा ठूलो अनुष्ठान हो । हाम्रो मिथिलानी दिदी बहिनी पढाइ देखि नोकरीमा व्यस्त हुँदा पनि यसका लागि समय मिलाउँछन् । म आफै बैंकमा जागिर गर्दैछु तर यो पर्व नियम निष्ठाले गर्छु । मिथिलामा माता गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीको रूपमा पूजा गर्ने चलन छ । यस पर्वमा माता गौरी र महादेवलाई बासी फूल र बेलपत्र चढाउने परम्परा छ । यस पर्वमा मिथिलाको लोक गीतहरू गोसाउनी गीत, गौरीगीत, शिवनचारी, महेशवाणी, कोहबरगीत आदि गाउने गरिन्छ । टेमी विधिमा दीयोको टुप्पीले नवविवाहितालाई गोडामा पोलिन्छ । बेहुलीको देब्रे गोडामा टुप्पीले स्पर्श गराइन्छ । स्पर्श गराइएको स्थानमा चन्दनको लेप लगाइन्छ । यसमा पोलिएको ४ स्थानमध्ये एक वा तीन स्थानमा घाउ आए श्रीमानले भविष्यमा अझै बढी माया गर्ने भन्ने विश्वास रहेको छ । मैले बुझे अनुसार टेमीप्रथा शारीरिक परीक्षण पनि हो । किनभने विवाह, सन्तान पछि धेरै किसिमका हर्मोन परीवर्तन हुनु स्वाभाविक हुन । यसप्रकारको परीक्षण त्यसबाट हुने फोकाको निरीक्षण हो कि ? हरेक पर्वको आफ्नो मौलिकता हुन्छ । त्यसैले हाम्रो प्रथालाई पनि कसैले कुरा काटन नमिल्ने, टेमी प्रथा हाम्रो परम्परा हो । हाम्रो पुर्खाले दिएको विरासत हो । यसलाई हिंसा भन्नुको अर्थ छोरी ससुराली जानु पनि हिंसा हो । हामी केटी किन जाने केटा आओस् ससुराली बसोस् । वा सिन्दुर लगाउनु हिंसा हो । यो पनि उत्थान हुनुपर्ने वा बच्चा हामी महिलाले किन जन्माउने पुरुषले जन्माओस् । हरेकको अलग अलग काम कर्तव्य, नियम निष्ठा, पूजा विधान, संस्कृति हुन्छ । र, सबै कुरामा नकारात्मक र नयाँपन ल्याउनु आवश्यक हुँदैन ।’