‘सखि हे सावनके बूँद झिसी पियासँग खेलब पचिसी ना….!’

–ज्योति झा
जनकपुरधाम, साउन २० गते ।
साउन महिनाका विभिन्न धार्मिक एवम् सांस्कृतिक महत्वहरु छन् । हिन्दू धर्ममा हरेक महिनाको आफ्नो बेग्लै विशेषता हुन्छ । १२ महिनामध्ये सबभन्दा खास महिना साउन महिनालाई बुझिन्छ । साउन महिना हिन्दू धर्ममा अत्यन्त महत्वपूर्ण मानिन्छ । यस महिनामा भगवान शिवको पूजा विशेषगरी महत्वपूर्ण मानिन्छ । र, यसलाई “श्रावण मास“ वा “सावन महिना“ पनि भनिन्छ ।
साउन महिनामा भाई बहिनीको सम्बन्धलाई अझ प्रगाढ गर्ने रक्षाबन्धनको पर्व पनि आउँछ । यो पर्व खासगरी श्रावण शुक्ल पूर्णिमामा मनाइन्छ । यो महिना कृषिका लागि एकदम उपयुक्त मानिन्छ । कारण यो महिना वर्षा हुने भएकाले कृषिमा ठूलो भूमिका खेल्दछ । किनकि यो कृषिको लागि उपयुक्त समय मानिन्छ । यस महिनामा विभिन्न सांस्कृतिक र धार्मिक समारोहहरू आयोजना गरिन्छ । यस महिनामा प्रायः घर, मन्दिर, गाँउमा भजन, कीर्तन तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छ ।
यो महिनामा फलफूल र सब्जीहरूको मौसमको शुरुवात हुन्छ । जसले शरीरलाई ताजगी र पोषण प्रदान गर्दछ । साउन महिनाले धार्मिक आस्थासँग मात्र नभई कृषि र सांस्कृतिक जीवनमा पनि महत्वपूर्ण भूमिका खेल्दछ ।
यो महिनामा प्रकृति हरियो रङ्गले सजिएको र मनमोहक देखिन्छ । साउन महिनालाई देवातीदेव महादेवको प्रिय महिनाको रूपमा लिइन्छ । साउन आउनेवित्तिकै प्रकृतिमा जोश, जांगर, श्वास आएको जस्तो देखिन्छ । यस महिनामा वर्षा हुन्छ र वर्षामा थरिथरिका जीवजन्तुहरू बाहिर आउँछन् । हरेक जीवजन्तुको आफ्नो बेग्लै आवाज र ध्वनि हुन्छ । यो महिनाको वातावारण यस्तो लाग्छ मानौ दुलही सजिएको होस् ।
हाम्रो धार्मिक ग्रन्थले भन्छ कि साउनमा भगवान शिवको पूजा अराधना र जल अभिषेक गर्नाले हरेक प्रकारको मनोकामना पूरा हुन्छ । यो महिना खास गरेर महिलाको लागि वरदान नै हो । जब वरपरको प्रकृतिमा हरियाली हुन्छ अनि मनमा खुशियाली स्वभाविक नै हो ।
परापूर्वकालदेखि नै साउने सोमबारका दिन व्रत बस्ने, चोखो खाने, महादेवको ध्यान गर्ने, मेहंदी लगाउने चलन थियो । तर, बदलिँदो युगसँगै फेसनको दौडमा अहिले त बच्चादेखि वृद्धसम्म श्रावणभरी हरियो, पहेंलो तथा रातो रंगको पहिरन, चुरा, पोते, नेलपोलिस, मेहंदी आदि लगाउने चलन बढेको छ ।
हुनत यसलाई हेर्ने सोच्ने सबैको आ–आफ्नो दृष्टिकोण छ । कसैले हरियो चुरा, वस्त्र, मेहंदीलाई हिन्दूधर्मावलम्बी महिलाहरुले आफ्नो धर्म र परम्परालाई निरन्तरता दिइरहेको बताउँछन् भने केहिका अनुसार यो देखादेखि हो जसले हाम्रो परम्परा सँस्कारलाई बिगार्ने काम र गुम्ने खतरा छ ।
यसै सन्दर्भमा महोत्तरी जिल्ला परकौलीकी मिरा पाठक भन्छिन्, ‘मेहंदी लगाउनु त परापूर्वकालदेखि नै चलनमा छ । पहिला हामी मेहंदी बोटको पात तोडेर सिलौटामा पिसेर लगाउँथ्यौं तर अहिले बजारमा सहज रूपमा मेहंदीको कुपी पाइन्छ । हेर्दा जति सजिलो खतरनाक फेरी त्यतिकै हुन्छ । त्यो कुप्पी मेहंदीमा केमिकल हुन्छ जसले क्यान्सर मात्र नभई हातमा दाग पनि बसाउँछ । तर, आधुनिकता हो मानिसलाई सहजता र क्षणिकमा बढि नै रुची हुन्छ । दीर्घकालिन सोच्दैनन् । अहिले मेहंदी लगाउनु मात्र फेसन हो तर हाम्रो समयमा मेहंदी लगाउनुमा आफ्नो अलग्गै विशेषता थियो । जेठमा मेहंदी लगाउँदा ठूलो दाईको आयुमा वृद्धि हुन्छ । असारमा लगाउँदा आश मनोरथ पूरा हुन्छ । साउनमा मेहंदी लगाउँदा श्रीमानको आयूमा बढोत्तरी हुन्छ भने भदौमा भाइको लागि लगाइन्छ भन्ने विश्वास र श्रद्धा थियो ।’
उनले अगाडि भनिन्, ‘साउन महिना महादेवको प्रिय महिना हो । यस महिनामै भोलाले विष पिएका थिए । विष खाएपछि घाँटीमा पोल्छ र त्यही जलनलाई पानीले शान्त गर्छ । त्यही भएर यो महिनामा महादेवलाई जल अभिषेक गरिन्छ । यसो गर्नाले जीवनमा शान्ति र मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ । यही महिनामा भगवान रामले पनि काँवर लिएर जल अभिषेक गरेका थिए । भगवान शिव शंकरलाई साउन महिनामा ब्राम्ह्ण, कायस्थ, सोनार, भूमिहार जातीको मधुश्रावणी हुन्छ । बिहे भएको पहिलो साउनमा नवविवाहिता दुलहीले मधुश्रावणी पुज्छन् । ससुरालीबाट नवदुलहीको लागि हरियो सारी, चुरी, मेहंदी, श्रृंगारका सबै सामान आउँछन् । र, हरियो सारी लगाएर फूल टिप्न नव दुलही जान्छिन् । तर अहिले त देखादेखि बढेको छ ।’
त्यस्तै नेतृ विभा ठाकुर भन्छिन्, ‘साउन महिना वर्षातको महिना भएकोले चारैतिर हरियाली फैलिएको हुन्छ र प्रकृतीसँगै महिलाको श्रृंगार पनि बदलिन्छ । हरियो रङ्गको विशेषता बारे ठाकुरले प्राकृतिक चिकित्सामा यस रंगलाई विशेष महत्व दिइएको बताइन् । उच्च रक्तचाप, हृदय सम्बन्धी रोग लगायतमा हरियो रंग महत्वपूर्ण मानिएकाले पनि महिलाले हरियो रंग धारण गर्ने गरेको ठाकुरको तर्क छ । उनले भनिन्, ‘हरियो रंग प्रायः वनस्पति, घाँस र पातहरूको रंग हो । यो रंग प्रकृति र ताजगीको प्रतीक मानिन्छ ।मनोवैज्ञानिक दृष्टिकोणले, हरियो रंग शान्ति, सन्तुलन,र हर्षको भावना ल्याउँछ । हरियो रंगको प्रयोग विकास र नवीकरणको संकेतको रूपमा पनि गरिन्छ । जसले बढ्दै गरेको प्रवृत्ति र प्रगतिलाई दर्शाउँछ ।’
अर्की मिथिलानी निराले भनिन्, ‘साउन महिना वर्षाको महिना हो । यस महिनामा बाढी आउँछ । डुबान हुन्छ । समथर जमिनमा धेरै दिनसम्म पानी जम्छ । मानिसको शरीर पूर्ण फुर्तिलो नभएर कमजोर हुन्छ । यो बेला हाम्रो पाचन प्रणाली पूर्णरूपले काम गर्दैन । त्यही भएर माछा मासु यस महिनामा खानु हुन्न । पचाउन गार्हो हुन्छ । अर्को कुरा आजको प्रगतिशिल होडबाजिको हाम्रो यो सामाजिक सञ्जालमै आधारित हुँदै गएको समाज आफ्नो क्षमता भन्दापनि देखासिकिमा अगाडि बढ्दैछ । फेसनको बढ्दो होडबाजी हरियो चुरा, हरियो कपडा यो हाम्रो संस्कृति भन्दापनि फेसनको रहर हो । यस्ता देखासिकिको होडवाजीमा सकारात्मक भन्दापनि नकारात्मक म्यासेज जाने गर्छ समाजमा । अनिवार्य हरियो यो हाम्रो संस्कृति न थियो न हो । यो त हुनेखानेहरुका लागि फेसन गर्ने र रमाउने बहाना मात्रै हो । तर हरियो चुरा व्रतको दिन सुहागन महिलाले दान दिनु चाहिँ पौराणिक कहावत छ ।’
त्यस्तै पत्रकार प्रतिभा झा भन्छिन्, ‘महिला, युवती साउनमा चुरा र वस्त्र सबैथोक हरियो लगाउँछन् । यसलाई (सुहागको) सौभाग्यको निशानी बुझिन्छ । हरियो भन्दा पनि विशेषत के मान्यता छ भने पूरा वातावरण नै हरियो हुन्छ । पानी पर्छ । मरेको, सुखाएको घाँस, बन्जर जमीन पनि हाँस्न थाल्छ । बोटबिरुवा, फलफूलहरूमा पनि बेग्लै चमक हुन्छ । एउटा अलगै उमङ्ग हुन्छ । अन्नको शुरुवाती बीज (विऊ) रोपाईं असार साउनमा गरिन्छ । यो धार्मिक मान्यता भन्दा पनि उत्सव स्वरूप हरियो धारण गरिन्छ । वातावरणमा नयाँ उमङ्ग आएकोमा उत्सव मनाइन्छ ।’
झाले गुनगुनाउँदै भनिन्, ‘सखि हे सावनके बूँद झिसी पियासँग खेलब पचिसी ना…..’ यसलाई रोमान्टिक महिना पनि भनिन्छ । तर, अहिलेको युवापिढीलाई यसको मान्यता के हो ? अर्थ के छ ? किन साउनमा हरियो लगाइन्छ ? भन्नेबारे केही थाहा हुँदैन । स्कूल पढ्ने देखी कलेजका केटाकेटीले फेसन स्वरूप यसलाई अपनाएका छन् । महिना अनुसार मिथिलामा धेरै थोक छन् । जस्तै कुन महिनामा कुन रङ्गको बस्त्र चुरा लगाउने अथवा कुन महिनामा के खाने के न खाने । माघ महिनामा रातो चुरा, फागुनमा पहेंलो लगाउने मान्यता छ । जेठमा बैगुन खानु हुँदैन भने साउनमा साग खानु हुँदैन ।’
हिजोआज हरियो चुरा, हरियो रंगका कपडा तथा मेहंदीहरुको व्यापार बढेको छ । जनकपुरधामको जनक चोक, भानु चोक, पिडारी चोक, पेठिया बजार, जानकी मन्दिर, शिव चोक आसपासका पसलहरुमा हरियो चुरा र मेहंदी लगाउने युवतीहरुको भीड नै लाग्ने गर्दछ । र, यसरी पसलहरुमा भीड लाग्नुको मुख्य कारण भनेको अरूको सिको गर्नू हो । धर्म कर्ममा विश्वास भन्दा पनि फेसनकै आधारमा युवतीहरु पछि लागेकाले पनि यसको व्यापार बढेको देखिन्छ । जनकपुरधामको जनक चोकमा विगत १५ वर्षदेखि चुरा, लहठीको व्यवसाय गर्दै आएकी मुन्नि भन्छिन्, ‘एकदिनमा कहिलेकाँहि ४ देखि ५ हजारसम्मको पनि चुरा लहठी बेच्छु । अन्य महिनाको तुलनामा साउनमा हरियो, पहेंलो, रातो चुरा किन्न ग्राहकहरु बढी आउँछन् । जसमा ५ वर्षको बच्चा देखी ६५ वर्षको वृद्धा पनि हुन्छिन् । यो महिना हाम्रो व्यापारको लागि त वरदान नै हो ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


