जनकपुरधाम, १४ भदौ । मधेस प्रदेश सरकारले दीर्घरोगीहरूलाई एक लाख रूपैयाँ सहयोग गर्ने निर्णयको नेपाली कांग्रेसको स्वास्थ्य विभाग मधेस प्रदेशले स्वागत गरेको छ ।

दीर्घरोगीमा देखिने स्वास्थ्य समस्या , जटिलता र त्यसको प्रभावकारी निदानका लागि स्वास्थ्य विभागले सम्बन्धित निकायको ध्यानाकर्षण र सचेतना फैलाउँदै आएको थियोे ।

यसै सन्दर्भमा विभागले मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

स्वास्थ्य विभागका उपप्रमुख डा. सज्जन ठाकुरले यस्ता गम्भीर विषयलाई मनन गर्दै यस प्रदेशमा देखिएका स्वास्थ्य जटिलता र दीर्घकालिन प्रकृतिका रोग हल गर्न १ लाख रूपैयाँ दिने निर्णय अविलम्ब कार्यान्वयन गरेकोप्रति प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले मधेस प्रदेश स्वास्थ्य विभागले पनि यस विषयमा बारम्बार सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको र जनतालाई प्रत्यक्ष लाभ दिने जनस्तरसँग जोडिएको निर्णय प्रभावकारी कार्यान्वयनको तहमा पुगोस् भन्ने अपेक्षासमेत गरेका छन् ।

विभागले यस निर्णयका लागि मुख्यमन्त्री सरोजकुमार यादव,भौतिक पूर्वाधार विकासमन्त्री कृष्णा प्रसाद यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिहं, प्रदेश स्वास्थ्य विभागका सल्लाहकार डा. अन्जनी कुमार झा लगायत धन्यवाद ज्ञापन गरेको छ ।

विभागले जनस्वास्थ्यको हितमा रहने गरि आगामी दिनमा पनि दुरगामी प्रभाव पार्ने विषयमा आवाज उठाउँदै खबरदारी गरिरहने प्रतिबद्धतासमेत जनाएको छ ।