काठमाडौँ, ११ भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् ।

सोमबार सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणालीको शुभारम्भ गर्दै उनले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले अदालतका सबै काम, कारबाहीलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए । उनले अदालतमा ‘स्वचालित पेसी तारेख प्रणाली’ लागू भएसँगै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नसक्ने बताए ।

स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीलाई निश्चिन्तता हुने पनि प्रधानन्यायाधीश श्रेष्ठले बताए । उनले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै अझ सुधार हुँदै जाने बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘यसले कर्मचारीहरूलाई निश्चिन्तता हुने, सेवाग्राहीहरूलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ । पेसी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार गर्यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभूति मलाई भएको छ । अदालतका हरेक काम, कारबाहीहरू विशेष गरेर मुद्दाका पेसी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिखदेखि लिएर हरेक कुराहरू फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ । त्यो सबै कुराहरू प्रविधिमा आबद्ध छन् । प्रविधिमा आबद्ध भएको हुनाले त्यसले धेरै सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्णरूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ ।’

उनले स्वचालित पेसी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको बताए । भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको उनले जानकारी दिए । यो प्रणालीलाई आगामी दिनमा काठमाडौं जिल्ला अदालत हुँदै अन्य अदालतहरूमा पनि लागू गरिने उनले बताए ।