–ज्योति झा
जनकपुरधाम, ११ साउन । हामी अहिले २१औँ शताब्दीमा छौं अर्थात विज्ञान र प्रविधिको युगमा । जहाँ जटिलभन्दा जटिल काम पनि प्रविधिको माध्यमबाट निकै सरल र सहज ढंगले भइरहेका छन् । तर, यहि युगमा महिलामाथिको हिंसाको प्रकृति र प्रवृति झनझन विकराल र चरम तरीकाबाट हुँदैछ । जहाँ महिला पुरुष एक रथका दुई पाङ्ग्रा हुन । घर देखी बाहिरसम्म दुवै बराबर समान अधिकारका आधिकारिक हुन् । दुबै आ–आफ्नो ठाउँमा सबल, शिक्षित र सचेत छन् । छोराछोरीमा हुने भेदभाव र असमानताको अन्त्य भएको छ । दुबैलाई कानुनमा समान अधिकार दिइएको छ । तर, के साँच्चिकैमा आम जीवनमा त्यस्तो छ त ? वा यी सबै कागजको पानामा मात्र सीमित छन् ?

अहिले त झनझन महिला हिंसा बढिरहेको छ । महिला हिंसा समाजको त्यो कुरुप तस्बिर हो जसले महिलालाई सामान्य अधिकारको उपभोगबाट पनि वञ्चित बनाएको छ ।
झन मधेसमा त धेरै चेलीबेटीले दाइजोका कारण ज्यान गुमाइसकेका छन् र धेरै यस्तो घटनामा हत्यारा सजाय नपाई खुलेआम डुलिरहेका छन् । र, अहिले पनि यो क्रम रुकेको छैन । यसको प्रमुख कारण नै हो हाम्रो न्यायालय निष्पक्ष नहुनु, बिक्नु, न्यायालयको कमि कमजोरी । नत्र यति कडा कानुन हुँदा पनि अपराधी र अपराध कसरी दिनानुदिन बढ्दै गइरहेको छ । मेरो नजरमा यसको प्रमुख कारण नै हो कमजोर कानुन व्यवस्था  ।

घटना हो धनुषामा रहस्मय मृत्यु भएको आरती साहको ! नगराइन नगरपालिका–८ खीरखियाका विनोद प्रसाद साहकी ठूली छोरी हुन आरती साह । आरती औसतमा राम्री युवती थिइन् र त्यतिखेर उनि जनकपुरमा बीबीए दोस्रो वर्षमा अध्ययनरत थिइन् । २०७८ असारमा आरती र धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहि घर भएका मदन मोहन साहका छोरा मोतीबाबुसँग मागी विवाह भएको थियो । विवाह गर्दा आरतीको उमेर २० र मोतीबाबुको उमेर ३० वर्ष थियो । विवाहमा आरतीको बुवाले दाईजो स्वरूप २५ लाख नगदसहित घरको सरसामान पनि दिएका थिए । सुरुका केही दिन त ठिकै थियो तर पछि आरतीलाई उसको सासु, श्रीमान, ससुरा मिलेर माइतबाट अझै पैसा ल्याउ भनेर दबाब दिन थाले । र, घरमा दिनानुदिन यो कारणले गर्दा कलह झगडा हुन थाल्यो । आरतीमाथि अत्याचार बढन थाल्यो ।

आरतीका बुवाले भने, ‘दहेजको थप रकम नदिँदा पटक पटक मेरी छोरीलाई उनीहरूले कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिँदै आएका थिए । छोरी माइत आउँदा उसको जिउभरी निलडाम देखिन्थ्यो । छोरीको दुःख पीडा सहन नसकेर मैले कतियौँ पटक रकम पनि दिए । तर त्यो राक्षसहरुको डिमान्डको अन्त्य नै भएन । बरू मेरी छोरीको अन्त भयो । मैले कहाँबाट पैसा ल्याउनु, मेरो अर्की छोरी पनि छन् । उसको विहेको लागि पनि पैसा जोगाउनु छ । मैले कतिपल्ट उनीहरुलाई सम्झाए । तर, पैसाको लोभि उनीहरूलाई २५ लाखले पुगेन । त्यसपछि पनि कतिपटक पैसा मैले दिए । तर उनीहरूको माग्ने बानीमा सुधार आएन ।’
मेरी छोरी आरती आज मरेकी होइनन् । उनी त बिहे भएको केही दिनमै हरेक दिन मरिरहेको थिइन भन्दै विनोदको आँखाबाट आँशुको वर्षा हुनथाल्यो ।

गत जेठ ७ गते साँझ करिब साढे ६ बजे मलाइै मेरो सम्धीको फोन आयो । आरती बेहोस भएकाले जनकपुरको काव्या अस्पतालमा ल्याएका छौं । तपाईहरु पनि चाँडै आउनुस् । मैले फोन राख्नेबित्तिकै जनकपुर बसेर अध्ययन गरिरहेकी मेरी कान्छी छोरी मनिषालाई अस्पताल जान भने र म मेरी स्वास्नी टेम्पो चढेर जनकपुर पुगे ।

मनिषा काव्या अस्पतालका डाक्टरसँग आरतीको अवस्थाबारे सोधिन । जवाफमा उनलाई अस्पताल ल्याउँदा आरतीको मृत्यु भइसकेको बताइयो । केहि समयमै प्रहरी पनि अस्पताल आइपुग्यो र सोधपुछ सुरू भयो । सोधपुछपछि आरतीका ससुरा मदन मोहन साह र श्रीमान मोतीबाबु साहले भने झुण्डिएको अवस्थामा आरतीलाई फेला पारेकाले उद्धार गरि अस्पताल ल्याइएको तर अस्पताल ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको बताए । त्यसपछि घटनास्थल गएर प्रहरीले मुचुल्का तयार पार्यो । विनोदले भने, ‘मलाई एउटा कुरा सम्झमा आएन । मलाई मेरी छोरी बेहोस भनिएको थियो तर प्रहरीले सोधपुछ गर्दा उनले झुण्डिएर आत्महत्या गरेको भनियो । आरतीको घाँटीमा आत्महत्या गर्दा हुने जस्तै घाउ थियो भने गाला र शरीरको अन्य भागमा पनि बिभिन्न घाउ थियो ।’

आरतीकी आमा निर्मला देवीले भनिन, ‘मेरी छोरीको हत्या भएको हो । आत्महत्या गरेको भए जिउ र गालामा डाम आउँदैनथ्यो । मेरी छोरी यति पनि कमजोर थिइनन् कि आत्महत्या गरीहाल्छिन । न त यति शक्तिशाली कि आफैंले आफैंलाई शरीरभरि चोट घाउ दिएर झुण्डीहाल्छिन ।’
हामी पुग्यौं प्रहरीमा आरतीको ससुरा र श्रीमानविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिन । तर, धनुषा प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् । जबसम्म पोस्टमार्टम रिपोर्ट आउँदैन जाहेरी दर्ता नगर्ने प्रहरीको भनाइ थियो ।

जेठ ८ गते अपरान्ह १ बजे आरतीको शवको पोस्टमार्टम भयो । रिपोर्टले झुण्डिएको र त्यो आत्महत्या हुन सक्ने भन्यो । साथै त्यही रिपोर्टमा गालामा चोट र चोट भित्री भागसम्म भएको उल्लेख थियो । हामी यही आधारमा मेरी छोरीलाइ कुटपिट गरी हत्या भएको भन्दै फेरी प्रहरीमा जाहेरी दर्ता गर्न गयौं । हामीसँग त पहिला नै धोखा भएको हो । बिहे हुनुअगाडि केटा इन्जिनियर छ भनिएको थियो । तर, त्यो कुरा झुठो निस्क्यो । केटा ब्रोकर हो भन्ने कुरा बिहेपछि थाहा पायौं । पैसा त गयो साथै छोरी पनि गइन । अन्यायमा परेपछि न्यायको एउटै सहारा हुन्छ कानुन । तर त्यहाँबाट निराशा हाथ आयो..!

मृतक आरती साहकी आमा निर्मला देवीले भनिन, ‘के मैले यहि दिन देख्न छोरी जन्माएकी थिए ? के छोरी हुनु पाप हो त ? यो दाइजोको लोभि नरपिचाशहरुलाई सजाय दिने कोही छैन ? यस्तो खोकला कानुन र न्यायको के काम ?
समय जति प्रगतिशील र विकसित हुँदैछ हिंसाको स्वरूपमा झनझन अमानविय र क्रुर बन्दै गइरहेको छ । मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झनझन असभ्य र हिंसक बन्दै गएको अनुभुति भइरहेको छ ।
……………..
महोत्तरीको औरही गाउँपालिका वडा नम्बर–७ पोखरभिन्डा बस्ने बुवा विनेक मण्डल र आमा आशा देवीकी पहिलो र एक्लो छोरी हुन काजल मण्डल । काजलको बिहे २०७९ साल असार २४ गते धनुषाको हंसपुर नगरपालिकाका वडा नम्बर–९ रुदौलिका रामदेव मण्डल र शुशिला देवी मण्डलका छोरा सुनिल मण्डलसँग सामाजिक परम्पराले भयो । काजलका बुवा विदेशमा काम गर्छन् भने उनीभन्दा साना उनका दुइजना भाइ पनि छन् ।

बिहेमा २२ लाख रुपैयाँ उनको बुबाले खर्चा गरेका थिए । यो आशमा कि मेरी छोरीलाई गाह्रो नहोस् । तर विदेशमा कमाएको धन र छोरी दुबैसँग हाथ धुनुपर्यो विनेक मण्डललाई । काजलका श्रीमान मलेसियामा काम गर्छन् । बिहे भएको १५–२० दिनमै उनी मलेसिया फर्के ।

घरमा सासु, ससुरा, देबर र काजल मात्र थिए । सासुले उसलाई सानो–सानो कुरामा गालीगलौज र माइतमा फोनमा कुरा गर्न रोकटोक गरेको थियो । काजलको दिनचर्या घरको काममै बित्थ्यो । ९–१० महिनापछि मलेसियाबाट उनका श्रीमान छुट्टीमा घर आए । सबै ठिकठाक नै थियो । समय बित्दै गयो । एक दिन काजल आफू गर्भवती भएको थाहा पाइन । त्यसपछि उनको खुशीको कुनै सिमा थिएन । उनलाई लाग्यो अब सब ठिक हुन्छ । तर के थाहा त्यो खुशी क्षणिक हो ।

करिब डेढ महिनाको बिदापश्चात् सुनीललाई फेरि मलेसिया फर्कने समय आयो । उनि ८ गते विदेश जान घरबाट निस्केर ९ गते काठमाडौंबाट मलेसिया उडे । तर, उनी मलेसिया पुग्नु अगाडि १० गते उनको घरमा कहालीलाग्दो घटना घट्यो । २० वर्षकै कलिलो उमेरमा अकालमै काजलको मृत्यु भयो । १० गते साँझ ५ बजे काजल आफ्नो ससुरालीमै झुण्डिएको अवस्थामा मृत भेटिन ।

ससुराली पक्षले उनले आत्महत्या गरेको भनिरहँदा माइत पक्ष हत्या भएको दाबी गरिरहेका छन् । न्यायका लागि जब जिल्ला पुगे प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र उजुरी दिन पाइन्छ भन्यो । पोस्टमार्टम रिपोर्ट ७ दिनमा आउँछ प्रादेशिक अस्पतालमा हामीलाई भनियो ।

काजलकी आमा भन्छिन्,‘जब मैले मेरी छोरीको हत्या हो भनिरहेको थिए अनि हत्यारालाई नै फेरि कसरी मेरी छोरीको लाश सुम्पियो ? मैले आफ्नी छोरीको अन्तिम समय मुख पनि हेर्न सकिन । ममाथि यति ठुलो अन्याय किन ?’

पोस्टमार्टमको रिपोर्ट आयो । जिल्ला प्रहरी कार्यालयबाट फोन आयो कि आएर उजुरी दिनुस् । म घरायसी विवादमा अल्झेर पर्सीपल्ट जाँदा प्रहरीको बोली नै बदलिएको थियो । तपाईंको छोरीले आत्महत्या गरेकी छन् । तपाईं घर जानुस् यो केसमा अब केहि हुँदैन । तर, मैले भने मेरी छोरीलाई मारिएको हो । उनीमाथि घरेलु हिंसा भएको हो । मैले दाईजो पनि दिएको थिए । मलाई उजुरी दिनुछ भन्दा प्रहरीले मेरो कुनै कुरा नै सुनेन । म भित्रदेखि टुटें । मेरो छोरीको हत्याको दोषी उसका सासु ससुरा मात्र नभई कानुन पनि छ । नेपालको प्रशासनलाई सुधार गर्ने प्रयास भएपनि सेवा प्रभावकारी तथा गुणस्तर हुन सकेको छैन । यो संयन्त्रबाट न आम जनता सन्तुष्ट छन् न त कर्मचारी नै । नेताहरुले त झन प्रशासनिक संयन्त्रलाई आ–आफ्नो स्वार्थ अनुसार भताभुङ्ग बनाउन व्यस्त देखिन्छन् ।