जनकपुरधाम, १८ बैशाख । संयूक्त युवा विद्यार्थी मोर्चाले विरोध तथा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

सोमबार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाको कार्यालयमा लोसपा युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाको अध्यक्षतामा बसेको बैठकले विरोध तथा आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय गरिएको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत बैशाख १९ गते शहीद रमेश महतोको तस्बीर राखेर दीप प्रज्वलन गर्ने, २० गते अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, २१ गते धर्ना प्रदर्शन गर्ने, २२ गते पुत्ला दहन गर्ने निर्णय गरिएको छ ।
त्यसपश्चात् पनि मागहरुमाथि सुनुवाई नगरिए २३ गते पुनः बैठक बसेर थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय गरिएको लोसपा युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले जानकारी दिए ।

जनकपुरधामको भानुचोकमा आदिकवि भानुभक्त आचार्यको स्मारकको पुनः निर्माणका लागि शिलान्यास गरेको भन्दै मोर्चामा आवद्ध विद्यार्थी नेताहरुले आन्दोलित बनेका छन् ।

मधेस आन्दोलनका प्रथम शहिद महतोको नाममा स्मारक बनाउनुपर्ने भन्दै उनीहरुले विरोधस्वरुप यसअघि नगरप्रमुख मनोजकुमार साहको तस्बिर जलाएका थिए ।

उनले नगरप्रमुख साहले वार्तामार्फत यस समस्याको समाधान गर्ने बताएपनि वार्ताको वातावरण अझै नबनाएको आरोप लगाए ।

शनिबार जानकी नवमीको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले विरोध र विवादकाबीच स्मारकको शिलान्यास गरेको थियो । नगर प्रमुख मनोजकुमार साहले कडा सुरक्षाकाबीच स्मारक शिलान्यास गरेका थिए ।

विगतमा भानुचोकमा भानुभक्तको स्मारक रहेकोमा मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुले सो स्मारक भत्काएका थिए । भानुभक्तको प्रतिमा भत्याइएपछि जनकपुरधाममा भएको सडक विस्तारमा बाँकी रहेको स्मारक समेत भत्काइएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाले स्मारक निर्माणका लागि करिब साढे २० लाख रुपैयाँ विनियोजन गरेको हो । उक्त स्मारक निर्माण गर्न प्रभु जालानको अध्यक्षतामा उपभोक्ता समिति समेत गठन गरिएको छ ।