जनकपुरधाम, १७ बैशाख । धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ ।

जिल्लाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने गाडीले किचिएर उनको आफ्नै नातिनीको मृत्यु भएको हो ।

हंसपुर नगरपालिका वडा नम्बर–९ रुदौली बस्ने रवीन्द्र मण्डलको १४ महिने छोरी लक्ष्मीनिया कुमारी मण्डलको उपमेयर मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सुमोले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

आइतबार दिउँसो आफ्नै घरमा गाडी ब्याक गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको डीएसपी गौतमले जानकारी दिए ।

प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी पनि नियन्त्रण लिएको छ ।