काठमाडौं, १७ बैशाख । प्रहरीले निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।

काठमाडौं चाबहिलको सरस्वतिनगरमा भाँडा पसल सञ्चालन गर्ने आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको जनाएको छ । हत्या संलग्नताको आरोपमा प्रहरीले झापाबाट विनोद विकलाई शनिबार पक्राउ गरेर काठमाडौं ल्याएर आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीले निराको हत्या लुटपाटको उद्देश्यले भएकोसमेत जनाएको छ । ७ वैशाखमा निराको हत्या भएको थियो । हत्यासँगै निराले लगाएको सुनको सिक्री लुटपाट भएको थियो ।

पक्राउ परेका विकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । विकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।