दाङ, १६ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जेष्ठ नागरिकले पाउने भत्ता रोकिएको भन्ने प्रचार गलत भएको बताएकी छन् । यसबारे सरकारलाई बदनाम गराउन हल्ला फिजाइएको उनले दाबी गरिन् ।

शनिबार दाङको राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले जेष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नभएको बताएकी हुन् ।

उनले भनिन्, ‘पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता कटौती गर्दै छ भनेर पनि प्रचार गरिएको छ यो सरासर गलत हो । यसबारेमा सरकारले कुनै निर्णय लिएको छैन ।’

मन्त्री शर्माले मिटरब्याजी पीडितका समस्या सधैँका लागि अन्त्य गर्न कानुन निर्माण गरी समाधान गर्ने प्रक्रियामा सरकार रहेको जानकारी दिइन् ।

सरकार खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पुर्याउन प्रतिबद्ध रहेकोसमेत उनले बताइन् ।