जनकपुरधाममा भानुभक्तको स्मारक शिलान्यास गर्दा मधेशवादी दलको विरोध

जनकपुरधाम, १६ बैशाख । जनकपुरधामको भानुचोकमा आदिकवि भानुभक्त आचार्यको स्मारकको पुनः निर्माणका लागि शिलान्यास गर्दा मधेसवादी दलहरुले विरोध जनाएका छन् ।
शनिबार जानकी नवमीको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले विरोध र विवादकाबीच स्मारकको शिलान्यास गरेको हो ।
नगर प्रमुख मनोजकुमार साहले कडा सुरक्षाकाबीच स्मारक शिलान्यास गरेका छन् । विगतमा भानुचोकमा भानुभक्तको स्मारक रहेकोमा मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुले सो स्मारक भत्काएका थिए । भानुभक्तको प्रतिमा भत्याइएपछि जनकपुरधाममा भएको सडक विस्तारमा बाँकी रहेको स्मारक समेत भत्काइएको थियो ।
सडक विस्तार पुरा भएपछि जनकपुरधाम उपमहानगरपालिकाले सो ठाउँमा स्मारक निर्माण गर्न लाग्दा मधेसबादी दलका नेता तथा कार्यकर्ताहरुले विरोध जनाएका छन । मधेस आन्दोलनको शहिद रमेश महतोको नाउमा स्मारक बनाउनुपर्ने भन्दै उनीहरुले विरोध जनाएका छन् । मधेस केन्द्रीत दल जसपा, लोसपा र जनमत पार्टीका कार्यकर्ताहरुले शिलान्यास स्थल पुगेर विरोध जनाएका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाले स्मारक निर्माणका लागि करिब साढे २० लाख रुपैयाँ विनियोजन गरेको हो । उक्त स्मारक निर्माण गर्न प्रभु जालानको अध्यक्षतामा उपभोक्ता समिति समेत गठन गरिएको छ । उपमहानगरपालिकाले वार्तामार्फत यस समस्याको समाधान गर्न आह्वान गरेको छ ।
विगतमा समेत त्यहाँ भानुभक्तको प्रतिमा रहेकाले जनभावना अनुसार त्यहाँ भानुभक्तको प्रतिमा निर्माण गर्न लागिएको मेयर साहले बताए । उनले वार्ता मार्फत यस समस्याको समाधान गर्न आह्वान गरेका छन् ।
यता, लोसपा नेपालका प्रदेश सचिव रामविनोद चौधरीले मधेसवादी दललाई भानुभक्त आचार्यसँग कुनै द्वेषभाव नरहेको बताए ।

उनले भने, ‘भानुभक्तप्रतिको हाम्रो सम्मान पहिला पनि थियो र सदैव रहिरहने छ । तर, मधेस आन्दोलनको क्रममा सहिद रमेश महतो नामाकरण गरिएको चौकमा पुनः भानुभक्त आचार्यको स्मारक राख्नु मधेस आन्दोलन तथा सहिदप्रतिको सम्मानमा प्रहार भएकोले हामीले विरोध गरेका हौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


