जनकपुरधाम, १५ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भातृ संगठन लोकतान्त्रिक युवा संघ नेपाल धनुषाले जनकपुरधाममा मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको नाममा सालिक निर्माण प्रक्रिया अगाडी बढाउन माग गरेको छ ।

लोसपा युवा संघ धनुषाका अध्यक्ष प्रशान्त कुमार झाको नेतृत्वमा पुगेको टोलीले यस्तो माग गर्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई ज्ञापन पत्रसमेत बुझाएको हो ।

ज्ञापन पत्रमा जनकपुरधाम उपमहानगरपालिकाले रमेश महतो चौकमा तत्कालीन भानुभक्तको नाममा रहेको भानु चौकलाई पुनः रमेश महतो चौकको सट्टा भानु चौक निर्माण गरी भानुभक्तको सालिक स्थापना गर्ने योजना रहेकोमा संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

मधेश आन्दोलनको मर्म र भावना विपरीत रमेश महतो चौकलाई विस्थापित गर्ने कार्य भए आफूहरु संर्घष गर्न वाध्य हुने ज्ञापन पत्रमार्फत चेतावनीसमेत दिइएको छ ।

लोकतान्त्रिक युवा संघ नेपाल धनुषाका अध्यक्ष प्रशान्त कुमार झाले यस प्रकारका कामलाई अविलम्ब रोकी रमेश महतोको नाममा सालिक निर्माण प्रक्रिया अगाडी बढाउन उपप्रमुख साहसँग माग गरेका छन् ।

ज्ञापन पत्र बुझाउन पुगेको टोलीमा समाजवादी विद्यार्थी युनयनका केन्द्रीय सचिव बलिराम कापडी, लोसपा धनुषाका सह–सचिव सानु श्रेष्ठ, लोसपा विद्यार्थी संघका जिल्ला सचिव सिद्धार्थ चौधरी, लोसपाका जिल्ला सदस्य शम्भु झा, किशन साह, रोशन साह, मनिष मण्डल, पंकज साहलगायतकाहरु सहभागी थिए ।