काठमाडौं, ३ बैशाख । मंगलबारबाट नेपालमा आयोजना हुन लागेको एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

वैशाख ५ देखि १८ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदै छन् । जसमा मुलपानी क्रिकेट मैदान पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो ।

कुल २४ खेल हुने प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । यसैगरी समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन् । हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ । यसैगरी प्रतियोगिताका शीर्ष तीन टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछन् ।

प्रतियोगितामा नेपालले वैशाख ५ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै छ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । यसैगरी नेपालले वैशाख ८ मा ओमान, ११ गते साउदी अरेबिया र र १४ गते कतारको सामना गर्नेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी ,सन्दीप लामिछाने, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, गुल्सन झा ।