जनकपुरधाम, ३ बैशाख । स्वास्थ्य बीमा बोर्डले बीमा प्रिमियमभन्दा बढी दाबी भुक्तानी गरेको देखिएको छ ।

बोर्डले हालसम्म बीमा योजनामा सहभागीबाट प्राप्त बीमा प्रिमियमभन्दा १५ अर्ब २९ करोड ५४ लाख रूपैयाँ बढी दाबी भुक्तानी गरेको हो ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था छ ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार रहेकोमा यस कार्यक्रममा यस वर्षसम्म ५९ लाख ८८ हजार (२०.५३ (प्रतिशत) नागरिक मात्र सहभागी भएको र गत वर्षसम्म सहभागी ४५ लाख ७२ हजार ९८९ मध्ये २९ लाख ८६८ जनाले मात्र बीमा नवीकरण गराएको बोर्डले जनाएको छ ।

बीमा योजना कार्यक्रममा गत वर्षसम्म ६ अर्ब ५६ करोड ८० लाख प्रिमियम प्राप्त भएकोमा यस वर्ष २ अर्ब ४५ करोड ३७ लाख थप भई ९ अर्ब २ करोड १७ लाख रूपैयाँ प्राप्त भएको छ ।

बीमितले स्वास्थ्य सेवा लिएको बिल भरपाईको आधारमा बोर्डले यस वर्ष ९ अर्ब ९२ करोड ७ लाख समेत हालसम्म २४ अर्ब ३१ करोड ७१ लाख रूपैयाँ शोधभर्ना भुक्तानी दिएको छ ।

हालसम्म बीमा योजनामा सहभागीबाट प्राप्त बीमा प्रिमियमभन्दा १५ अर्ब २९ करोड ५४ लाख बढी दाबी भुक्तानी भएको देखिएकोले दिगो रूपमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ ।

उता, गरिब घरपरिवार पहिचान गर्ने कार्य एक दशक बितिसक्दा पनि सम्पन्न नभएकोले विपन्न नागरिक सुविधाबाट वञ्चित हुनुपरेको अवस्था छ ।

विपन्न परिवारलाई आधारभूत सहुलियत र सुविधा प्रदान गरेर जीवनयापन सहज बनाउने उद्देश्यले २०६९ मा गठन भई २०७५ मा खारेज भएको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले ६ वर्षको अवधिमा २६ जिल्लामा ३ लाख ९२ हजार गरिब घरपरिवार पहिचान गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सञ्चालित कार्यक्रमबाट २३ जिल्लाका २ लाख २३ हजार गरिब घरपरिवार पहिचान गरेको र बाँकी २८ जिल्लाको तथ्याङ्क सङ्कलन गरी गरिब घरपरिवार पहिचान गर्ने कार्य भइरहेको देखिएको छ ।

उक्त कार्यक्रममा बोर्डले ४ वर्षको अवधिमा १६ करोड ८३ लाख, मन्त्रालयले ३ वर्षमा ११ करोड ९४ लाख र विगत ३ वर्षमा वित्तीय हस्तान्तरण गरी पठाएको १ अर्ब ३३ करोड १५ लाखसमेत १ अर्ब ६१ करोड ९२ लाख रूपैयाँ खर्च भएको छ ।

नेपाल जीवनस्तर मापन सर्वेक्षण २०६६/६७ को आधारमा सुरु भएको गरिब घरपरिवार पहिचान गर्ने कार्य अहिलेसम्म पनि सम्पन्न नभएकोले विपन्न नागरिक सुविधाबाट वञ्चित हुनुपरेको छ ।