जनकपुरधाम, ३ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षको अन्त्यमा एक विद्यालयलाई पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत १० लाख रूपैयाँ निकासा गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७८/७९ को ६०औँ वार्षिक प्रतिवेदनमा उपमहानगरले पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ मा कार्यक्रमको कार्यान्वयनको तालिकासहित कार्य योजना समावेश गरी विद्यालयसँग सम्झौता गर्ने र विद्यालयलाई सुरूमा ५० प्रतिशत रकम उपलब्ध गराउने तथा बाँकी ५० प्रतिशत रकम अनुगमन र प्रगतिको आधारमा उपलब्ध गराउने व्यवस्था छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षको अन्त्यमा एक विद्यालयलाई उक्त शीर्षकमा १० लाख रूपैयाँ निकासा गरी विद्यालयको खाता रोक्का गरेको छ ।

कार्यविधि अनुसार विद्यालयसँग सम्झौता नभएको र ५० प्रतिशत प्रथम किस्ता बापत उपलब्ध गराउनु पर्नेमा शत प्रतिशत उपलब्ध गराएको र विद्यालयले लेखापरीक्षण अवधिसम्म पनि उक्त कार्यक्रम सञ्चालन नगरेको पाइएको छ ।

उक्त शीर्षकमा निकासा भएको रकम फिर्ता लिई संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने महालेखाको ठहर छ ।