मुखियापट्टीका अध्यक्ष यादवको कार्यशैलीप्रति स्वतन्त्र युवा समूहको असन्तुष्टि

जनकपुरधाम, २ बैशाख । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका युवाहरुले पालिका अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
स्वतन्त्र युवा समूहले पालिका अध्यक्ष जयकुमार यादवसँग असन्तुष्टि जनाउँदै ध्यानाकर्षण गराएका हुन् ।
‘जनतालाई जवाफ चाहिन्छ स्थानीय सरकार’ भन्दै उनीहरुले पालिका अध्यक्ष यादवसँग विभिन्न ११ बुँदे सुझाबसहितको ध्यानाकर्षण पत्र तयार गरेका छन् ।
स्वतन्त्र युवा समूहले गाउँपालिका अध्यक्ष यादवका लागि स्कर्पियो खरिद गरिएपनि जनताका लागि एम्बुलेन्स खरिद गर्नेबारे कुनै निर्णय नगरिएकोप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले गाउँपालिका अध्यक्षका लागि खरिद गरिएको स्कर्पियो पालिकाको कुन शिर्षकअन्तर्गत खरिद गरिएको भन्दै त्यसको हिसाबसमेत मागेका छन् ।
स्थानीय युवा अनिल यादवले प्रश्न गर्दै भने, ‘गाउँसभा सम्पन्न भएको सात दिनभित्र चालु आर्थिक वर्षको बजेटबारे जानकारी दिने कानूनी व्यवस्था रहेपनि अध्यक्ष यादवले अहिलेसम्म आर्थिक वर्ष २०७९÷८० को वजेट सार्वजनिक नगर्नुको कारण के ? गत आर्थिक वर्ष २०७८/७९ को खर्चको सार्वजनिक सुनुवाई सम्बन्धी जानकारी जनतालाई कहिलेसम्म हुने ?’
उनले भने, ‘गत आर्थिक वर्ष २०७८/७९ को बाँकी रकम २९ करोड कुन–कुन शिर्षकमा बॉडफॉड गरियो, कि सम्पूर्ण बजेट पालिका अध्यक्षको घरमा अथवा आफन्तकोमा गयो, यसबारे जानकारी जनतासम्म कहिले आउने ?’
स्थानीय युवाहरुले करारका कर्मचारी अमरनाथ साफीलाई पालिकाको शिक्षा संयोजक, लक्ष्मीपुर विद्यालयको प्रधानाध्यापक, योजना अनुगमन समितिको सदस्य लगायतको जिम्मेवारी दिनु पछाडिको कारणसमेत खोजेका छन् ।
अनिलले प्रश्न गर्दै भने, ‘गाउँपालिकाका कर्मचारीहरुको हाजिरी रजिष्टर कहिलेसम्म दराजमा बन्द राख्ने अध्यक्ष ज्यू ?पालिकाका कर्मचारीसँग भेदभाव किन ? गाउँपालिकामा तपाईं नयाँ हिटलर हो कि ? पालिकाअन्तर्गतका विद्यालयको शिक्षकहरुलाई जथाभावी सरुवा, शिक्षकहरुमाथि जथाभावी अपशब्द, विद्यालयमा गुण्डातत्वको प्रवेश र मनोमानी किन ? यी सबैको जिम्मेवार को ?’
स्वतन्त्र युवा समूहले विगतको सरकारलाई विफल बनाउने र अहिलेसम्म पालिकाको बेरुजु रकम १९ करोड पुर्याउने कर्मचारी तपनारायण साह, रामपुकार दास र अमरनाथ साफीलाई मात्र सबै शाखाको जिम्मेवारी दिनु पछाडिको कारण के रहेको भन्दै अध्यक्षसँग जवाफ मागेका छन् ।
गाउँपालिका अध्यक्षले इन्धनवापत प्रतिमहिना १०० लिटर पेट्रोल पाउने कानूनी व्यवस्था हुँदा पनि पालिकाको सम्पत्ति इन्धनको नाममा पानी जस्तै बगाउने अधिकार कुन कानूनले दिएको हो भन्दै उनीहरुले गाउँपालिकाको प्राङ्गणमा जथाभावी फालिएका सार्वजनिक सम्पत्तिको क्षति र दुरुपयोगको जिम्मेवार को हुने भन्दै अध्यक्ष यादवसँग प्रश्नसमेत गरेका छन् ।
अध्यक्ष यादवको गतिविधिबारे बोल्दा उनले फोन गरेर जथाभावी गालीगलौज गर्ने गरेको युवाहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


