काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् ।

नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशमा अराजकता बढ्दै गएको बताएका हुन् ।

कोइरालाले चुनावमा भएका तिक्ततालाई बिर्सिएर संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता विजयकुमार गच्छदारले सात दशकभन्दा लामो इतिहास बोकेको कांग्रेस संसदीय लोकतन्त्रलाई बलियो बनाउन अझै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।