काठमाडौं, २ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन् ।

प्रधानमन्त्रीसँग अहिले ६ वटा मन्त्रालयको जिम्मेवारी छ । उनले त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक स्वतन्त्र सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन् । स्वतन्त्र सांसदमध्ये प्रभु साह वा अमरेशकुमार सिंह मन्त्री बन्नेछन् ।

प्रधानमन्त्रीले नेपाली कांग्रेसलाई बाँकी रहेका मन्त्रीहरूको नाम दिन आग्रह गरेका छन् । शनिबार सत्ता गठबन्धनका ३ शीर्ष नेता बीच बालुवाटारमा भएको बैठकमा कांग्रेसको भागमा परेका ४ मन्त्रीको नाम दिन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका हुन् ।

कांग्रेसले यसअघि चारजनालाई मन्त्री बनाएको छ । उसको भागमा परेका ८ मध्ये ४ वटा मन्त्रालयमा मन्त्रीको नाम नपठाउँदा प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन ।

कांग्रेसको भागमा परेका बाँकी मन्त्रालयमा स्वास्थ्य, परराष्ट्र, न्याय र खेलकुद मन्त्रालय छन् । तीमध्ये कोइराला समूहले तीनवटा मन्त्रालय माग गरेको छ । देउवाले भने दुईवटा मन्त्रालय मात्रै दिने अडान लिएका छन् ।

आन्तरिक किचलोका कारण सभापति देउवाले थप मन्त्रीको नाम पठाउन सकेका छैनन् । कांग्रेसले नाम दिए आइतबार मन्त्रिपरिषद् पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ ।