काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको महामन्त्री थापाले बताए । मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे ।

सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि महामन्त्री थापाले सरकारलाई सचेत गराए ।सरकारले राम्रो काम गर्दै गए ३/४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ छ ।

०८० सालमा नेपाली कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताउँदै महामन्त्री थापाले आगामी जेठ अन्तिम साता हुने कांग्रेसको नीति अधिवेशनमा यसबारे व्यापक छलफल गर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

त्यसको प्रभाव नपर्नका निम्ति कांग्रेसको बीचमा भएका बेमेललाई हटाएर सबै वडा सम्मेलन गर्नुपर्ने उनले बताए । प्रदेश, क्षेत्रीय, जिल्ला, भातृ संस्था सबैको सम्मेलन गरेर पार्टीलाई सुदृढ बनाएर, एक ढिक्का बनाउनुपर्ने उनले बताए ।

महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।