काठमाडौं, १ बैशाख । काठमाडौं महानगरपालिकामा अब अनलाइनबाटै नक्सापास गर्न मिल्ने भएको छ ।महानगरपालिकाले शुक्रबारदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली शुरूवात गरेको हो ।

‘काठमाडौं महानगरपालिकामा पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेका छौँ । यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेस गर्न सकिनेछ,’ नयाँ सेवा सञ्चालन गरेपछि मेयर बालेन शाहले भने, ‘संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।’

उनले महिनौ समय लाग्ने काम अब छिटो बन्नेसमेत बताए । उनले भने, ‘यसले पहिले २–३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ । यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।’