काठमाडौं, १ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट मुक्त गर्न सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाईसम्बोधन गर्दै थापाले राष्ट्रवादी, सनातन हिन्दुवादी पक्षधर शक्तिहरू केही मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका हुन् ।

उनले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ–आफ्नो ठाउँबाट लचकता अपनाउँदै एकतामा आउनुपर्ने बताएका छन् ।

मुलुकको व्यवस्था मात्र परिवर्तन भएको अवस्थामा कुनै परिवर्तन नभएको चर्चा गर्दै थापाले राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट गरेकोमा चिन्ता व्यक्त गरे ।

वैदेशिक रोजगारी अलिकति मात्रै तलमाथि परे देशको अर्थतन्त्र तासको घर झैँ ढल्ने भन्दै थापाले मुलुकको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका राजनीतिको छायामा परेकोमा चिन्ता व्यक्त गरे ।