राष्ट्रपतिद्वारा विभिन्न क्षेत्रका ७२८ व्यक्तित्वलाई मानपदवी प्रदान

काठमाडौं, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७२८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एकजनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, १६५ जनालाई सुप्रबल जनसेवाश्री, ६ जनालाई कीर्तिमय राष्ट्रदीप, ३१६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र २०५ जनालाई जनसेवाश्री प्रदान गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपाल रत्न पूर्वप्रधानमन्त्री स्व. कोइरालालाई प्रदान गरे । राष्ट्र गौरव राजनीतिज्ञ स्व. जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व. सत्यमोहन जोशीलाई प्रदान गरियो । सुप्रसिद्ध प्रबल जनसेवाश्री डा. जगमान गुरुङलाई प्रदान गरियो । समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको हो ।
मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन् । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


