जनकपुरधाम, ३० चैत । मधेस प्रदेशमा करोडौंका ल्याब सामग्री प्रयोगविहीन बनेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनुषाले खरिद गरेका २४ करोड ४८ लाख ३ हजार मूल्य बराबरको ल्याब सामग्री प्रयोगविहीन बनेका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशको ६४ स्थानीय तहमा प्रयोगशाला स्थापना गर्नका लागि विशेष परिस्थितिजन्य कारण उल्लेख गरी आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा २४ करोड ४८ लाख ३ हजारको ल्याब सामग्री खरिद गरेको थियो ।

तर, ति ल्याब सामग्रीहरू जिल्ला सदरमुकाममै मौज्दात रहँदा स्थानीय तहहरूमा अहिलेसम्म ल्याब सञ्चालन हुन सकेको छैन ।

लेखापरीक्षणको अवधिसम्म उक्त सामग्रीहरू प्रयोगशालामै मौज्दात रहेको महालेखापरीक्षकले बिहीबार सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ मा विशेष परिस्थिति खरिद गर्ने सम्बन्धी व्यवस्था छ।

खरिद गरिएका करोडौं मूल्यका ति सामान प्रयोगमा ल्याइएको प्रमाणसमेत पेश नभएको प्रतिवेदनमा उल्लेख छ ।

ल्याब सामग्रीको प्रयोग नहुँदा थाइराइडको जाँच, सोडियम, पोटासियमलगायत सामान्य जाँच गर्न पनि बिरामीहरू प्रदेशबाहिर जान बाध्य छन् ।

म्याद नाघेका लाखौंको पौष्टिक आहार प्रयोगविहीन

यता, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र जनकपुरधामले खरिद गरेको म्याद नाघेका सामग्रीहरू पनि प्रयोगविहीन बनेका छन् ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले १६ लाख ४३ हजार रूपैयाँमा खरिद गरेको विभिन्न ४ प्रकारका पौष्टिक आहारहरू प्रयोगमा नै ल्याइएको छैन ।

उत्पादन भएको मितिबाट ६ महिनासम्ममा प्रयोग गर्न उत्तम हुने उल्लेख भएकोमा केन्द्रबाट हस्तान्तरण भई २०७९ बैशाख ८ गते प्रादेशिक अस्पताल लहानमा हस्तान्तरण भएका १६ लाख ४३ हजार मूल्यका ५ हजार ८९६ किलोग्राम पौष्टिक आहार प्रयोग नभई म्याद गुज्रेको पाइएको छ ।

आपूर्ति केन्द्रले आवश्यकताको पहिचान नगरी खरिद गरेका कारण पौष्टिक आहार नष्ट गर्नुपर्ने अवस्था देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।