काठमाडौं, ३० चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू ठाउँमा सार्न आग्रह गरेका छन् ।

सरकारले काठमाडौंको हितमा काम गर्न नसकेको गुनासो गर्दै उनले सिंहदरबार अरू पालिकामा सार्न आग्रह गरेका हुन् । बालेनले राजधानी सारेपनि काठमाडौंबासीलाई कुनै आपत्ति नहुने बताएका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

उनले काठमाडौंबासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिएको तर राजनीति नचाहिने पनि बताएका छन् ।

महानगरपालिकाले सुकुम्बासीलाई हटाउन खोज्दा सरकारले असहयोग गरेको भन्दै मेयर साहले यसअघि सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने घोषणा गरेका थिए ।

फोहोर नउठाउने उनको घोषणासँगै सरकार र मेयर साहबीचको विवाद बल्झिँदै गइरहेको छ ।