नेपालले ११ वैशाखदेखि राष्ट्रिय टिमको तयारी सुरु गर्ने

काठमाडौं, २९ चैत । चीनको होङझोउमा हुने १९औं एसियाली खेलकुदलाई लक्षित गरी नेपालले ११ वैशाखदेखि राष्ट्रिय टिमको तयारी सुरु गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव टंकलाल घिसिङले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ११ वैशाखदेखि ३ जेठसम्म पहिलो चरणको प्रशिक्षण हुने जानकारी दिए । त्यसमा २४५ जना खेलाडी सहभागी हुने उनले बताए ।
उनले भने, ‘६ देखि २५ जेठसम्म दोस्रो चरणको प्रशिक्षण हुनेछन् । दोस्रो चरणमा खेलाडी संख्या घटाएर २९५ मा झारिनेछ । २६ जेठदेखि ३१ भदौसम्म सञ्चालन हुने मुख्य र अन्तिम तयारीमा १६८ खेलाडी हुनेछन् ।’
नेपालले एसियाली खेलकुदमा २३ खेलका खेलाडी समावेश गर्ने निर्णय गत वैशाखमै गरेको हो । एसियाली खेलकुद पनि कोरोना महामारीका कारण १ वर्ष सारिएको हो ।
एसियाडका लागि प्रशिक्षण सुरु गर्नुअघि सबै खेलको छनोट प्रतियोगिता ३–७ वैशाखसम्म हुनेछ । करातेले यसअघि नै छनोट सम्पन्न गरिसकेको छ ।
यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा औचित्य पुष्टि गरी समय हेरफेर गर्न सकिने सदस्यसचिव घिसिङले बताए ।
सरकारले एसियाड तयारीका लागि विनियोजन गरेको १० करोड रुपैयाँ अर्थ मन्त्रालयले विना जानकारी रोक्का गरिदिएपछि राखेपले माघ अन्तिमदेखि सुरु गर्ने तयारी गरेको एसियाडलक्षित प्रशिक्षण प्रभावित भएको थियो ।
अर्थ मन्त्रालयले २ करोड निकाशा गरेपछि प्रशिक्षण सुरु गर्न लागिएको सदस्यसचिव घिसिङले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


