जनकपुरधाम, २७ चैत । जनकपुरधाममा जारी ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत सोमबार पाँचौं दिनको खेलमा विराटनगर र सप्तरी विजयी भएका छन् ।

पहिलो खेलमा विराटनगरले सर्लाहीलाई ७७ रनले पराजित गर्दा दोस्रो खेलमा काठमाडौंलाई ५ रनले पराजित गर्दै सप्तरी विजयी भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ्ग गरेको विराटनगरले सर्लाहीलाई १५२ रनको लक्ष्य दिएको थियो ।

विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो । विराटनगरको तर्फबाट सुनिल धमलाले सर्वाधिक ५६ रन बनाए । यस्तै फिरदोस अन्सारीले ३७ रनको अविजित पारी खेल्दा सुजन थपलियाले २०, भास्कर दुब्बेले १२, मिनास थापाले १२ र मुकुन्द यादवले ९ रन बनाए ।

बलिङ्गतर्फ सर्लाहीका सन्दीप खडका, विशाल पटेल, चक्रधर यादव र सुमन शुक्लाले १/१ विकेट लिए ।

१५२ रनको लक्ष्यसहित जवाफि ब्याटिङ्गमा उत्रेको सर्लाही १९.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । सर्लाहीको तर्फबाट विशाल पटेल र आतिश दासले १३ रन बनाउँदा अन्य ब्याट्सम्यान दोहोरो अंकमा समेत पुग्न सकेनन् ।

बलिङ्गतर्फ विराटनगरका भाष्कर दुब्बे सुनिल धमलाले ३/३ विकेट लिए भने दिपक राज जोशीले २, फिरदोस अन्सारी र दिपेश कँडेलले १/१ विकेट लिए ।

अर्धशतकीय पारी खेल्दै ३ विकेट लिन सफल धमलालाई म्यान अफ द म्याचको उपाधि प्रदान गरियो ।

त्यस्तै, सोमबारको देस्रो खेलमा काठमाडौंमाथि सप्तरीले रोमाञ्चक जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

सप्तरीका लागि रोहन विकले सार्वधिक ५० बलमा ४० रन, अभिषेक कार्कीले १२ र विक्रम दासले १० रन बनाए ।

सप्तरीका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङ्गतर्फ काठमाडौंका इसान पाण्डे र गजेन्द्र बोहराले ४/४ विकेट लिए ।

१०२ रनको लक्ष्यसहित ब्याटिङ्गमा उत्रेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि अशोक पौडेलले २४, गजेन्द्र बोहराले १७ र समिर कंडेलले १० रन बनाए । अन्य ब्याट्सम्यानले भने सम्मानजनक रन बनाउन सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्न सप्तरीका राहुल मण्डलले ३, पप्पु यादव र नितेश यादवले २/२ विकेट लिए । यस खेलको म्यान अफ दी म्याच रोहन विक घोषित भए ।

प्रतियोगिताको छैटौं दिन मंगलबार बिहान ९ बजेदेखि विराटनगर र पर्साबिच पहिलो तथा दिउँसो १ः४० बजेदेखि काठमाडौं र पोखराबिच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।