एजेन्सी, २७ चैत । भारतमा ‘खालिस्तान’ राज्यको छुट्टै माग गर्दै अभियान चलाएको आरोपमा प्रहरीले खोजी गरिरहेका अमृतपाल सिंहका सहयोगी पापलप्रित सिंह पञ्जाबबाट पक्राउ परेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सिंहलाई पञ्जाबको होशियारपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

भारतीय पत्रिका द हिन्दुको अनलाइन संस्करणमा प्रकाशित समाचारका अनुसार सिंहलाई पञ्जाब प्रहरी र पञ्जाब काउन्टर इन्टेलिजेन्सको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका सिंहलाई अमृतसर ग्रामीण प्रहरीको हिरासतमा राखिएको छ । पापलप्रितविरुद्ध गत १३ फागुनमा भएको अजनाला हिंसाको मुद्दामा समेत एफआईआर दर्ता भएको थियो ।

भारतले खालिस्तान अभियानका मुख्य व्यक्ति अमृतपाल सिंह नेपालमा रहेको आशंकामा सर्तक रहन आग्रह गरेको थियो ।