जनकपुरधाम मेयर कप : पहिलो खेलमा विराटनगरले सर्लाहीलाई ७७ रनले हरायो

जनकपुरधाम, २७ चैत । जनकपुरधाममा जारी ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत सोमबार पाँचौं दिनको पहिलो खेलमा विराटनगर ७७ रनले विजयी भएको छ । आजको पहिलो खेलमा विराटनगरले सर्लाहीलाई ७७ रनले पराजित गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा बिहान भएको पहिलो खेलमा टस हारेर ब्याटिङ्ग गरेको विराटनगरले सर्लाहीलाई १५२ रनको लक्ष्य दिएको थियो ।
विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो । विराटनगरको तर्फबाट सुनिल धमलाले सर्वाधिक ५६ रन बनाए । यस्तै फिरदोस अन्सारीले ३७ रनको अविजित पारी खेल्दा सुजन थपलियाले २०, भास्कर दुब्बेले १२, मिनास थापाले १२ र मुकुन्द यादवले ९ रन बनाए ।
बलिङ्गतर्फ सर्लाहीका सन्दीप खडका, विशाल पटेल, चक्रधर यादव र सुमन शुक्लाले १/१ विकेट लिए ।
१५२ रनको लक्ष्यसहित जवाफि ब्याटिङ्गमा उत्रेको सर्लाही १९.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । सर्लाहीको तर्फबाट विशाल पटेल र आतिश दासले १३ रन बनाउँदा अन्य ब्याट्सम्यान दोहोरो अंकमा समेत पुग्न सकेनन् ।
बलिङ्गतर्फ विराटनगरका भाष्कर दुब्बे सुनिल धमलाले ३/३ विकेट लिए भने दिपक राज जोशीले २, फिरदोस अन्सारी र दिपेश कँडेलले १/१ विकेट लिए ।
अर्धशतकीय पारी खेल्दै ३ विकेट लिन सफल धमलालाई म्यान अफ द म्याचको उपाधि प्रदान गरियो ।
समाचार तयार पार्दासम्म काठमाडौं र सप्तरीबिचको आजको अर्को खेल जारी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


