जनकपुरधाम, २७ चैत । लामो समयको अन्तरालपश्चात् आज मधेस प्रदेशको प्रदेशसभा बैठक बस्न लागेको छ ।

करिब दुई महिनाको अन्तरालपश्चात् आज दिउँसो १ बजेका लागि प्रदेशसभाको पहिलो अधिवेशनको आठौं बैठक आह्वान गरिएको हो ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार बैठकको सुरुमा सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त जानकारी सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

आजको बैठकमा उच्च स्तरीय संसदीय छानविन समिति, २०७९ का सभापति रानीकुमारी तिवारीले समितिको म्याद थप सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको सचिव यादवले जानकारी दिए ।

मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने प्रस्तावसमेत प्रस्तुत गर्ने छन् ।

विभिन्न ६ वटा विधेयक तयारी अवस्थामा रहेपनि विभिन्न मन्त्रालयको ढिलाइका कारण प्रदेशसभामा पेस हुन नसकेको बताइएको छ । मुख्यसचिवको अनुपस्थिति र सरुवाले पनि विधेयकलाई मन्त्रिपरिषद्बाट निर्णय गराउन समस्या देखिएको छ ।

मधेस प्रदेशमा उपभोक्ता समितिको पुरानो बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि उपसभामुख बबिता राउतको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । उपसभामुख राउतले भने राजीनामा दिइसकेकी छन् । त्यसपछि सर्वसहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सांसद रानीकुमारी तिवारीलाई जिम्मेवारी दिइएको थियो ।

सो समितिको राजीनामा र नयाँ संयोजकको चयनको विषयमा समेत प्रदेशसभाको बैठकमा निर्णय हुने बताइएको छ ।समितिको म्याद सकिएकाले बैठकबाट त्यसको निर्णय गरिनेछ ।

राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनका कारण गत फागुन ४ गतेपछि मधेस प्रदेशको प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

हेनुहोस् आजको कार्यसुची