बुर्किना फासोमा भएको आक्रमणमा परी ४४ जनाको मृत्यु

एजेन्सी, २६ चैत । उत्तरी बुर्किना फासोमा भएको दुई आक्रमणमा परी ४४ जनाको मृत्यु भएको छ । यी दुई हमला नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा भएका थिए ।
कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । तर, त्यस क्षेत्रमा जिहादी हिंसा प्रायः हुने गर्दछ । अधिकारीहरूले यसको लागि ‘सशस्त्र आतङ्कवादी समूह’ लाई दोष दिएका छन् ।
चरमपन्थी सङ्गठन अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थी समूहहरू त्यस क्षेत्रमा सक्रिय छन् ।
सहेल क्षेत्रका लेफ्टिनेन्ट गभर्नर रोडोल्फो सर्गोले भने, ‘घृणित र बर्बर आक्रमण’ का लागि जिम्मेवार आक्रमणकारीहरूलाई निष्क्रिय पारिएको छ ।’
यस हमलामा थुप्रै गाउँले घाइते भएपनि उनीहरूको संख्या भने खुल्न सकेको छैन । लेफ्टिनेन्ट गभर्नरले क्षेत्रमा स्थिरता ल्याउन प्रयास भइरहेको बताए ।
गाउँका एक बासिन्दाले ‘धेरै संख्यामा आतङ्ककारीहरू गाउँमा प्रवेश गरेको’ र रातभर गोली चलेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


