काठमाडौं, २६ चैत । ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखल ७ वर्षपछि थ्रीस्टार क्लब फर्किएका छन् ।

लिगमा एकसय गोल गर्ने एकमात्र खेलाडी सन्तोषलाई जारी लिगका लागि थ्रीस्टारले अनुबन्ध गरेको हो ।

पाटने क्लबले सामाजिक सञ्जालमार्फत साहुखललाई अनुबन्ध गरेको जनाएको छ ।

साहुखलले गत सिजन च्यासल युथ क्लबबाट लिग खेलेका थिए । हाल जापानमा बस्दै आएका उनी लिगका बेला नेपाल आएर खेल्ने गर्छन् ।

उनले पछिल्लो पटक सन् २०१५ मा थ्रीस्टार खेलेका थिए । त्यो बेला थ्रीस्टारले राष्ट्रिय लिगको उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थिए ।

जारी लिगमा थ्रीस्टार ६ खेलबाट १० अंकसहित छैटौं स्थानमा छ ।