रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बित गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई पार्टीबाट निलम्बन गरिएको रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका हुन् ।
‘अडियो बाहिरिएको विषयमा निलम्बन गर्न छानबिन समिति बनाइएको छ, उहाँको निलम्बन भइसक्यो,’ उनले भने । उनी समानुपातिकतर्फबाट सांसद भएका थिए ।
श्रेष्ठलाई कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाउने रास्वपाको तयारी छ । रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठको नाम चर्चामा थियो । तर, उनी मन्त्री बनेनन् ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।
‘हाम्रो भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयो । मन्त्रीका लागि रवि सरलाई २ करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा छैन । अहिले एक करोड जति दिँदा हुन्छ । एक करोड चाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयोग चाहिएको छ,’ श्रेष्ठले अडियोमा भनेका छन् ।
जवाफमा प्रसाईंले आफूले २ करोड उपलब्ध गराइदिने ग्यारेन्टी गरेका छन् ।
‘तपाईँलाई मैले २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ । तपाईँलाई म सजिलो बाटो देखाइदिन्छु । त्यसको पिर नगर्नुस् । उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस्, सत्य कुरा । तपाईं र म भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन । फोन पनि गर्नुपर्दैन । म जति भिडेको छु नि स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ ? कुरो बुझ्नुभएन ?,’ प्रसाईंले अडियोमा भनेका छन् ।
अडियोमा सुनिएको स्वर आफ्नो नभएको जिकिर
यसैबिच सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको आरोप अस्वीकार गरेका छन् । दुई करोड रुपैयाँको डिल गरेको सार्वजनिक अडियोमा सुनिएको स्वर आफ्नो नभएको उनको जिकिर छ ।
श्रेष्ठले अनौपचारिक रुपमा आफ्नो स्पष्टीकरण दिएका छन् । पार्टीको म्यासेन्जर ग्रुपमा सन्देश लेख्दै उनले आफू निर्दोष भएको बताए ।
अडियो सार्वजनिक भएसँगै उनले आफूले दुर्गा प्रसाईंलाई नचिन्ने र कहिल्यै उनीसँग पैसा नमागेको दाबी गरेका छन् ।आफूले मन्त्री बन्ने कुनै प्रयाससमेत नगरेको श्रेष्ठको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


