चितवन, २६ चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि चितवन–२ का ४३ मध्ये २९ मतदान स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

मतदान स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्त्वका साथ लिइएको उनले बताए । सबै राजनीतिक दलको ध्यान उपचुनावमा हुने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी रहेको प्रजिअ पौडेलले बताए । सबै मतदानस्थलमा ७ वैशाखभित्र नै सुरक्षाकर्मी पुगिसक्ने उनले जानकारी दिए ।

चितवन–२ मा १ लाख २४ हजार ६९५ जना मतदाता छन् । उनीहरूले ४३ स्थलका १३८ मतदान केन्द्रबाट मतदान गर्नेछन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसदबाट मुक्त भएकाले सो क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो ।

चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ । १० वैशाखमै बारा–२ र तनहुँ–१ मा पनि उपनिर्वाचन हुँदैछ ।