जनकपुरधाम, २६ चैत । जनकपुरधाममा जारी ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत आइतबार चौथो दिनको पहिलो खेलमा बारा ५३ रनले विजयी भएको छ । आइतबारको पहिलो खेलमा बाराले रौतहटलाई ५३ रनले पराजित गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा बिहान भएको पहिलो खेलमा बाराले रौतहटलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । यसअघि जनकपुरधामको टिम पनि सेमिफाइनलमा पुगिसकेको छ ।

टस हारेर ब्याटिङ्ग गरेको बाराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । जवाफि ब्याटिङ्गमा उत्रेको रौतहटले १३.४ ओभरमै सबै विकेट गुमाएर ८४ रन मात्र बनाउन सकेको थियो ।

बाराको तर्फबाट तिर्थराज दासले ३७ रन बनाएका थिए भने निखिल सिंहले अविजित २८, पवन सर्राफले २६ र अरनिको यादवले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दाहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङ्गतर्फ रौतहटका धर्मेन्द्र साहले २ विकेट लिए भने विनोद सहनी, रंजित मुखिया, सन्नी साह र आशिक साहले १/१ विकेट लिए ।

१३८ रनको लक्ष्य पाएको रौतहटले सबै विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सकेको थियो । रौतहटको तर्फबाट अरविन्द चौधरीले अविजित १७ रनको पारी खेल्दा शैलेन्द्र कुशवाहा १३, नितेश यादव १२ र विपिन सहनीले १२ रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङ्गमा बाराका कुमार थापाले ४ ओभरमा १८ रन खर्च गर्दै ४ विकेट लिए भने अरनिको यादवले ३, पवन सर्राफले २ र अनिल कुमार साहले १ विकेट लिएका थिए ।

आजको पहिलो खेलमा सेमिफाइनलको यात्रा तय गरेका बाराका कुमार थापा म्यान अफ दि म्याच घाषित भए । आजको अर्को खेल दिउँसो १ बजेर ४० मिनेटबाट सर्लाही र पर्साबिच हुने आयोजकले जनाएको छ ।