उपनिर्वाचन लगत्तै सातवटै प्रदेशको सरकार पुनर्गठन हुन्छ : पूर्वमन्त्री खाँण

जनकपुरधाम, २६ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक अविलम्ब पारित गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै खाँणले राष्ट्रपति कार्यालयमा अडकिएर रहेको नागरिकता विधेयक अविलम्ब पारित गर्न आग्रह गरेका हुन् ।
संविधानले प्रत्येक नेपालीलाई नागरिकता पाउने अधिकार दिएकाले सोबाट कसैले पनि बञ्चित गर्न नसक्ने बताउँदै उनले आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौं नेपालीले भोगिरहेको जिकिरसमेत गरे । उनले सो विधेयक प्रमाणिकरणका लागि पहल गर्न आग्रह गरे ।
उनले भने, ‘दुवै सदनबाट दुई पटक पारित गराएर नागरिता विधेयक अहिले राष्ट्रपति कार्यालयमा अडकिएको छ, संवैधानिक व्यवस्था अनुसार एक पटक विधेयकलाई राष्ट्रपतिले फर्काउन सक्ने व्यवस्था छ, तर, दोस्रो पटक प्रमाणिकरण बाहेक अर्को कुनै विकल्प हुँदैन । राष्ट्रपति कार्यालयमा प्रमाणिकरण नभई अडकिएर रहेको सो नागरिकता विधेयक प्रमाणिकरणकालागि वर्तमान सरकारले पहल गर्नु पर्छ । यसकालागि हामीले अग्रसरता देखाउनेछौँ ।’
खाँणले विभिन्न आन्दोलनको क्रममा नेता कार्यकर्ताहरुमाथि लगाइएका राजनीतिक मुद्दाको फिर्ता प्रक्रियासमेत अविलम्ब अगाडी बढाउनुपर्नेमा जोड दिए ।
पूर्वमन्त्री खाँणले नेपाली कांग्रेस संघिय सरकारमा शामिल भइसकेको अवस्थामा प्रदेश सरकारहरु समेत पुनर्गठन हुने बताए ।गठबन्धनमा आवद्ध दलहरुबिच प्रदेश सरकारहरुमा आलोपालो गरि मुख्यमन्त्री सैद्धान्ति सहमति भएको उनले जानकारी दिए ।
उपनिर्वाचन लगत्तै सातवटै प्रदेश सरकार पुनर्गठन तथा गठबन्धनमा आवद्ध दलहरुलाई कुन विधिले प्रदेश सरकारहरुमा शामिल गराउने लगायतको विषयमा छलफल अगाडी बढाइने खाँणले बताए ।
नेता खाँणले कांग्रेसबिनाको देशको कल्पना गर्न नसकिने दाबीसमेत गरेका छन् । उनले देशको निकास कांग्रेसकै हातमा रहेको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


