जनकपुरधाम, २५ चैत । जनकपुरधाममा जारी ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत शनिबार तेस्रो दिनको खेलमा हेटौंडा र जनकपुरधाम विजयी भएका छन् ।

शनिबारको पहिलो खेलमा हेटौंडाले रौतहटलाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा सिरहालाई १० विकेटले पराजित गर्दै जनकपुरधाम विजयी भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा बिहान भएको पहिलो खेलमा हेटौडाले रौतहटलाई ५ विकेटले पराजित गरेको छ ।

रौतहटले दिएको १०९ रनको लक्ष्य हेटौंडाले १६ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । हेटौडालाई सहज जित दिलाउन गौरव खडाकाले अविजित ५१ रनको अर्धशतकिय पारी खेले । हेटौंडाका लागि सुमन सुनारले १३ र रामनरेश गिरीले १० रनको योगदान गरे ।

रौतहटको बलिङ्गमा आशिक साह र संजय साहले २/२ तथा धर्मेन्द्र साहले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको रौतहट अरविन्द चौधरीको ३६ र धर्मेन्द्र साहको २७ रनको योगदानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रनको स्कोर खडा गरेको थियो ।

रौतहटलाई सस्तैमा समेट्न शुभ कंशकार र रामनरेश गिरीले ३/३ विकेट लिए । त्यस्तै अशिम श्रेष्ठ र विशाल फुयालले १/१ विकेट लिएका थिए ।

शनिबारको दोस्रो खेलमा सिरहालाई १० विकेटले पराजित गर्दै जनकपुरधाम सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा महोत्तरीलाई पराजित गरेको जनकपुरधाम लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिरहाले दिएको ८४ रनको झिनो लक्ष्य जनकपुरधामका खेलाडीले बिना कुनै विकेटको क्षतिमा पूरा गरेको थियो । जनकपुरधामका लागि हरिशंकर साहले ३६ र मयन यादवले ३० रनको अविजित पारी खेले ।

यसअघि पहिले ब्याटिङ्ग गरेको सिरहाका खेलाडी जनकपुरधामको बलरसामु टिक्न सकेनन् । सिरहाका लागि शैलेन्द्र साह १७, राकेश कामत १६, कृष्णा साह १२ र अशोक यादवले ११ रनको पारी खेले ।

सिरहालाई सस्तैमा समेट्न कृष्णा कार्की र विशाल सुशलिङ्गले ४/४ विकेट लिएका थिए भने आकाश रोयले २ विकेट लिए ।

जनकपुरधाम प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको चौथो दिन आइतबार बिहान ९ बजेदेखि बारा र रौतहटबिच पहिलो तथा दिउँसो १ः४० बजेदेखि सर्लाही र पर्साबिच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।