काठमाडौं, २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दावी गरेका छन् ।

पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले नेकपा एमाले मुलुकमा अरु पार्टीभन्दा बढि बलियो, व्यापक र अग्लो रहेको दाबी गरे । उनले एमालेलाई समाप्त पार्न दुँनियाका सबै शक्तिहरु लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिला संघलाई धन्यवाद पनि दिए ।

पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको ओलीको भनाइ थियो । अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहोर्याए ।

त्यस अवसरमा उनले पार्टीभित्र गुटबन्दी नगर्न पनि निर्देशन दिएका छन् । एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न पनि सबैलाई सचेत गराए । उनले पार्टीभित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने पनि स्पष्ट पारे ।