नागरिकता विधेयक प्रमाणिकरण गरी लोकतन्त्रको रक्षा गर्न माग

जनकपुरधाम, २५ चैत । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले नागरिकता विधेयक २०७९ लाई कानूनको रुप लिइसकेको घोषणा गर्न माग गरेका छन् ।
शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो माग गरेका हुन् ।
सार्वभौम जनताको प्रतिनिधि संघीय संसदबाट विधायन सम्बन्धी सबै संवैधानिक प्रक्रिया पूरा गरिसकेको र दोस्रो पटक पारित भएको १५ दिनभित्र प्रमाणिकरण हुनुपर्ने सो विधेयकलाई प्रमाणिकरण नगरी तत्कालिन राष्ट्रपतिले संविधानको खुला उल्लंघन गरेको उनको जिकिर छ । यसलाई अझै रोकेर राख्नु भनेको संविधानको घोर उल्लंघन, लोकतन्त्रविरुद्ध खुला प्रहार र राज्यको मूल कानूनप्रति अवज्ञा रहेको अध्यक्ष लालको ठहर छ ।
उनले भने, ‘वर्तमान १० दलीय सरकारले आफ्नो प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा ६ महिनाभित्र नयाँ विधेयक पारित गर्ने भनेर यस्तो अपराधलाई सदर गर्ने प्रयास मात्र गरिरहेको छैन, लोकतन्त्र र संविधानमाथि अर्को प्रहार गर्न खोजिरहेको छ ।’
लालले सो विधेयक अहिले पनि राष्ट्रपति कार्यालयमा रहेको र त्यसलाई प्रमाणिकरण गर्न कुनै कानूनी अवरोध नरहेको भन्दै राष्ट्रपतिलाई शिघ्रातिशिघ्र सो विधेयक प्रमाणिकरण गरी लोकतन्त्रको रक्षा गर्न माग गरे ।

पत्रकार सम्मेलनमा तराई–मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा.विजयकुमार सिंहले सार्वभौम जनताको प्रतिनिधि संघीय संसद सर्वोच्च निकाय रहेको दाबी गरे ।
उनले कुनै कानूनमा चित्त नबुझे प्रक्रिया अवलम्वन गरेर संशोधन हुन सक्ने भएपनि संवैधानिक प्रक्रिया पूरा गरेर पारित भइसकेको विधेयकलाई कानून बन्नबाट कसैसँग रोक्ने अधिकार नरहेको बताए ।
उनले यो अत्यन्त गम्भिर विषय रहेकोले सबै लोकतन्त्रवादी, कानूनविद्, सञ्चार र बुद्धजीवीहरुलाई विधिको पालनाको पक्षमा आगाडि आउन जरुरी रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


