जनकपुरधाम, २४ चैत । जनकपुरधाममा जारी ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत शुक्रबार दोस्रो दिनको खेलमा बारा र सिरहाका टिम विजयी भएका छन् ।

शुक्रबारको पहिलो खेलमा बाराले हेटौंडालाई २० रनले पराजित गर्दा दोस्रो खेलमा महोत्तरीलाई १३ रनले पराजित गर्दै सिरहा विजयी भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा बिहान भएको पहिलो खेलमा बाराले दिएको १४५ रनको लक्ष्य पछ्याएको हेटौंडाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२४ रन मात्र बनाउन सक्यो ।

हेटौंडाको ब्याटिङ्गमा विशाल फुँयालले २१, शुभ कंशकार तथा अशिम श्रेष्ठले १७/१७ र रामनरेश गिरी १५ रनको योगदान गरे ।हेटौंडालाई सस्तैमा समेट्न बाराका अनिल साहले सर्वाधिक ३ विकेट लिन सफल भए । त्यस्तै कुमार थापा र अरनिको यादवले २/२ विकेट लिए ।

यसअघि बाराले पहिले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रनको स्कोर खडा गरेको थियो ।

बाराको ब्याटिङ्गमा साहिल पटेलले ४१ रनको पारी खेले । त्यस्तै मेघराज महराले ३४, तिर्थराज दासले २४ र अरनिको यादवले २० रनको योगदान गरे । पहिलो खेलको म्यान अफ द म्याच अरनिको यादव भए ।

त्यस्तै शुक्रबारकै दोस्रो खेलमा सिरहाले महोत्तरीलाई १४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग थालेको सिरहाले २० ओभरमा ६ विकेटको क्षतीमा १०९ रनको स्कोर खडा गरेको थियो । ११० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको महोत्तरीले २० ओभर खेल्दै ९ विकेटको क्षतीमा मात्र ९६ रन बनाउन सक्यो ।

सिरहाका लागि राकेश कामतले सर्वाधिक ३९ र अशोक यादवले २२ रन बनाएका थिए । महोत्तरीका लागि हरेकृष्ण झा र नविन यादवले २/२ विकेट लिए ।

ब्याटिङ्गतर्फ महोत्तरीका नविन यादवले व्यक्तिगत ३८ रन बनाउँदा अन्य ब्याट्सम्यानहरु रन बटुल्न सकेनन् । यससँगै महोत्तरी लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरएको छ ।

प्रतियोगिताको तेस्रो दिन शनिबार बिहान ९ बजेदेखि हेटौंडा र रौतहटबिच पहिलो तथा दिउँसो १ः४० बजेदेखि सिरहा र जनकपुरधामबिच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।