जनकपुरधाम, २४ चैत । नेपाली कांग्रेस महोत्तरीले संगठन सुदृढीकरण अभियानअन्तर्गत सुरु गरेको पदयात्रा अभियान शनिबार सम्पन्न हुन लागेको छ ।

नेपाली कांग्रेसले चैत ११ गतेदेखि मधेस प्रदेशमा ‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ भन्ने नाराका साथ पार्टीका महोत्तरी जिल्ला सभापति नागेश्वर यादवको नेतृत्वमा १५ दिने पदयात्रा अभियानको शुरुवात गरेको थियो ।

सभापति यादवको नेतृत्वमा ५० जना नेताहरुले जिल्लाको १५ वटै स्थानीय तहको १३२ वटै टोलमा पुग्ने योजना सहित खयरमाराबाट पदयात्रा आरम्भ गरेका थिए ।

पदयात्राको १४औं दिन शुक्रबार जलेश्वर नगरपालिकाका केही वडालगायत सिमरदही, बहुअर्वा, सिरसिया र धिरापुरको भ्रमण जारी रहेको नेपाली कांग्रेसको स्वास्थ्य विभागका उपप्रमुख डा. सज्जन ठाकुरले जानकारी दिए ।

अभियानअन्तर्गत शनिबार १५औं तथा अन्तिम दिन जलेश्वर भ्रमण गर्नुका साथै सभाको आयोजना गरिने उनले बताए । जलेश्वरमा आयोजना हुने सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम रहेको डा. ठाकुरले जानकारी दिए ।

पार्टीका नेता कार्यकर्तामा उर्जा बढाउन, समन्वय–सहकार्य गरी नेता कार्यकर्ता तथा जनताबीच आत्मियता बढाउने उद्देश्यले पदयात्राको शुरुवात गरिएको थियो ।

महोत्तरीबाट सुरु भएको पदयात्रा मधेस प्रदेशको आठवटै जिल्लामा सुरु गरी कांग्रेसको गाँउ तहको संगठन सक्रिय बनाइने उनले बताए ।